खोटाङ, २४ वैशाख । केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नव उद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाभित्रका गरिब र कम आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेसनको आर्थिक र प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तरत अनुदानका लागि उद्यमीहरू, केपिलासगढी गाउँपालिका र जी फाउन्डेशनबीच सम्झौतासमेत भएको छ । कार्यक्रम सञ्चालनका लागि छनोटमा परेका उद्यमीहरूले गाउँपालिकामा फर्मसमेत दर्ता गरिसकेका छन् ।
पहिलो चरणमा ११ जना महिला र चारचना पुरुष गरी १५ जना छनोट गरेर उनीहरूको आयआर्जनमा वृद्धि गर्ने योजना बनाइएको जी फाउण्डेसनकी सूचना अधिकारी अभिनी दीक्षितले जानकारी दिनुभभएको छ । “उद्यमीहरूको मागको आधारमा व्यवसायिक योजनाअनुसार मूल पूँजीमा अपूग रकम अनुदान दिन्छौँ । अनुदान तीन किस्तामा उपलब्ध गराइनेछ”, उहाँले भन्नुभयो, “कार्यक्रम आगामी दुई वर्षभित्र अहिलेको तुलनामा कृषकको आयआर्जनमा ३०० प्रतिशतले आय वृद्धि गर्ने लक्ष्य राखेका छौँ । यसले निम्न आय भएका उद्यमीहरुलाई जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
कार्यक्रम सञ्चालनका लागि छनोटमा परेका उद्यमीहरुले कृषि उपज, तरकारी खेती र पशुपन्क्षी उत्पादन लगायतका उद्यम सञ्चालन गर्नुपर्नेछ । कार्यक्रमका लागि जी फाउण्डेसनले आर्थिक र प्राविधिक सहयोग गर्ने जी फाउण्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक श्याम नेपालले बताउनुभएको छ ।
उद्यमीहरुका लागि जि फाउण्डेसनले सन् २०२५ सेप्टेम्बरसम्म प्राविधिक सहयोग उपलब्ध गराउने जनाइएको छ । उद्यमीहरुका लागि नयाँ उद्यम दर्ता गरेर कृषि तथा पशुपन्क्षी पालनका लागि बीउ पूँजी, प्राविधिक सहयोग र परामर्श दिनेछ ।