खोटाङ, २३ वैशाख । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४२ जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भएपनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरेको हो ।
गाउँपालिकाको दलित लक्षित कार्यक्रम अन्तरगत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उनीहरुलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको हो ।”
गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं. १ लिकुवापोखरीका चार, वडा नं. २ वाप्लुखाका एक, वडा नं. ३ सावाकटहरेका चार, वडा नं. ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ । यस्तै, वडा नं. ६ इन्द्रणीपोखरीका छ, वडा नं. ७ खोटाङबजारका तीन, वडा नं. ८ सिम्पानीका ११ र वडा नं. ९ लिच्कीराम्चेका नौँ जोडीलाई सम्मान गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं. १ लिकुवापोखरीका शम्भुजित कटवाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ, विनोद राई र तामता तामाङ तथा सुदेशकुमार राई र रिता खड्कालाई सम्मान गरिएको छ । यस्तै, वडा नं. २ वाप्लुखाका आश्विन राई र शुस्मा विश्वकर्मा, वडा नं. ३ सावाकटहरेका शङ्कर विश्वकर्मा र प्रमिला बस्नेत, भक्त विश्वकर्मा र मेनुका विष्ट, गणेश विश्वकर्मा र कुमारी शेर्पा तथा खड्ग विश्वकर्मा र कविता उप्रेतीलाई सम्मान गरिएको छ ।
वडा नं. ४ बडकादियालेका मोहन नेपाली र सुशिला तामाङ, रमेश नेपाली र सरु मगर, नविन नेपाली र प्रमिला मगर तथा खड्ग विश्वकर्मा र सरिता बस्नेतलाई सम्मान गरिएको जनाइएको छ । वडा नं. ५ चिप्रिङमा भने, केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।
वडा नं. ६ इन्द्रणीपोखरीका दिपक विश्वकर्मा र अमृता थापा, भीमबहादुर विश्वकर्मा र पारु विष्ट, गणेश विश्वकर्मा र तारा राई, कृष्ण परियार र दिलकुमारी राई, प्रकाश विश्वकर्मा र विष्णु राई तथा पर्शु सार्की र मनमाया प्रधानलाई सम्मान गरिएको छ । यस्तै, वडा नं. ७ खोटाङबजारका अम्बरबहादुर भुजेल र कला विश्वकर्मा, मनोज परियार र गोमा पौडेल तथा विज्ञान विश्वकर्मा र जुनु राईलाई सम्मान गरिएको हो ।
वडा नं. ८ सिम्पानीका बमबहादुर विश्वकर्मा र सरिता खत्री, खड्गबहादुर विश्वकर्मा र पवि तामाङ, मनबहादुर श्रेष्ठ र बबिता विश्वकर्मा, शङ्कर तामाङ र शोभा विश्वकर्मा, भरत श्रेष्ठ र अनुजा नेपाली, विवेक रोक्का र इन्द्रकला मगर, बिक्रम रोक्का र विपना राई, रमेश परिवार र सिवानी राई, मनोज परियार र गीता श्रेष्ठ, विजय तामाङ र तारा विश्वकर्मा तथा दिलकुमार विश्वकर्मा र पूजा मगरलाई सम्मान गरिएको छ । यस्तै, वडा नं. ९ लिच्कीराम्चेका कालुमान सार्की र अनु मगर, नैनबहादुर विश्वकर्मा र मिना तामाङ, खगिन्द्र विश्वकर्मा र मैया मगर, प्रकाश नेपाली र दिपा प्रधान, दिपेन्द्र नेपाली र सिर्जना फुयल, विपन नेपाली र सविना राई, विजय विश्वकर्मा र ममता राई, विशाल राई र प्रीति विश्वकर्मा तथा युवशन राई र रिता परिवार सम्मानित हुनुभएको हो ।
अन्तरजातीय विवाह गरेपछि अदृष्यरुपमा सामाजिक हिङ्सामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरुसमेत हर्षित भएका छन् । अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मान कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको थियो । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानून, दलितले भोगिरहेका विभेद र छुवाछुतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।