केपिलासगढीका अपाङ्ग र जेष्ठ नागरिकले आफ्नै गाउँमा बनाए राष्ट्रिय परिचयपत्र

Halesi Khabar

खोटाङ, २० वैशाख । केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीन दिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकगरी १२४ जनाले आफ्नै गाउँमा सेवा लिएका हुन् ।

अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीनवटा केन्द्रमा एक÷एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको पहलमा पहिलो पटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि सेवाग्राहीसमेत हर्षित बनेका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक पर्ने नीति नेपाल सरकारले लागू गरेपछि जिल्ला प्रशासन कार्यालय खोटाङसँगको सहकार्यमा गाउँपालिकाको तर्फबाट राष्ट्रिय परिचयपत्र बनाउने तीन दिन शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही एक हजार ८७२ जना छन् । यसमध्ये धेरैले आफ्नै पहलमा राष्ट्रिय परिचयपत्र बनाइसकेका थिए”, उहाँले भन्नुभयो, “सदरमुकाम दिक्तेल पुग्न नसकेका अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक छुटेका थिए । उनीहरुलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले गाउँपालिकाको तर्फबाट तीन दिने शिविर आयोजना गरिएको हो ।”

वैशाख–१८ गते बाक्सिला, सप्तेश्वर र बास्पानीका लाभग्राहीलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा आयोजना गरिएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । तीन दिने शिविरको पहिलो दिन वडा नं. ३ बास्पानीका १४, वडा नं. ४ बाक्सिलाका २० र वडा नं. ५ सप्तेश्वरका १४ जनाले सेवा लिएका हुन् ।

वैशाख–१९ गते फेदी र खार्ताम्छाका लाभग्राहीका लागि वडा कार्यालय खार्ताम्छामा आयोजित शिविरमा २१ जनाले सेवा लिएका छन् । वडा नं. १ फेदीका ९ र वडा नं. २ खार्ताम्छाका ११ जनाले सेवा लिएका हुन् ।

वैशाख–२० गते आज (शनिबार) दिप्सुङ र सुङ्देलका लाभग्राहीका लागि वडा कार्यालय सुङ्देलमा आयोजित शिविरमा सबैभन्दा बढी ५६ जनाले सेवा लिएका छन् । वडा नं. ६ दिप्सुङका १२ र वडा नं. ७ सुङ्देलका ४४ सेवा लिएका हुन् ।

राष्ट्रिय परिचयपत्र बनाउने तीन दिने शिविर सञ्चालनका लागि डिभाईस जडित उपकरणसहित जिल्ला प्रशासन कार्यालय खोटाङको पञ्जिकरण शाखा प्रमुख फनिन्द्र राई नेतृत्वको टोली केपिलासगढी पुगेका थिए । जिल्ला प्रशासन कार्यालय खोटाङबाट शिविरमा खटिएका टोलीलाई गाउँपालिकाले खाना, खाजा तथा आवश्यक कर्मचारीको व्यवस्था मिलाएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख समिर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । यो पटक आयोजना गरिएको शिविरमा छुटेका लाभग्राही तथा अन्य नागरिकका लागि आगामी साउनमा दोस्रो चरणको शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया