रावासावा कला पुरस्कार चाम्लिङ तथा साहित्य पुरस्कार परियारलाई प्रदान गर्ने घोषणा

Halesi Khabar

खोटाङ, २० वैशाख । रावासावा प्राज्ञिक समाज नेपालले विभिन्न क्षेत्रमा क्रियाशील रहेर जिल्ला तथा देशका लागि योगदान गर्ने खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने भएको छ । आगामी असोज पहिलो साता काठमाडौँमा आयोजना हुने रावासावा प्राज्ञिक समाजको १२ औँ साधारणसभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर साहित्य, कला, सँगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने घोषणा गरेको हो ।

यस वर्षको ‘रावासावा पुरस्कार–२०८२’ वरिष्ठ गीतकार एवम् कवि टीका चाम्लिङ र हास्यकलाकार एवम् साहित्यकार गोकुल परियारलाई प्रदान गरिने आयोजकले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वरिष्ठ सँगीतकार एवम् कवि चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार–२०८२’ र खोटेहाङ गाउँपालिका– ८ सिम्पानीका हास्यकलाकार एवम् साहित्यकार परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरिएको प्राज्ञिक समाजका अध्यक्ष एवम् साहित्यकार बम बानियाँ ‘तरङ्ग’ले जानकारी दिनुभएको छ ।

पुरस्कृत हुनुहुने दुवैजना श्रष्टालाई जनही रु २५÷२५ हजारका दरले नगद पुरस्कारको साथमा दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ऐसेखर्क गाउँपालिका–३ ऐसेलुखर्क घर भइ काठमाडौँमा शैक्षिक गतिविधि गर्दै आउनुभएका भक्त राजभण्डारीले काठमाडौँमा स्थापना गर्नुभएको कमलाभक्त प्रतिष्ठानसँगको सहकार्यमा पुरस्कार प्रदान गर्न लागिएको हो ।

यस्तै, ‘रावासावा सम्मान–२०८२’ बाट जन्तेढुङ्गाकी वरिष्ठ सञ्चारकर्मी एवम् अधिकारकर्मी बबिता बस्नेत, नुनथलाका उद्यमी, व्यवसायी एवम् समाजसेवी तेजबहादुर राई, लफ्याङका वरिष्ठ अधिवक्ता एवम् समाजसेवी देवराज कटवाल र पाथेकाकी समाजसेवी एवम् सामाजिक अभियान्ता गङ्गा राई ‘कान्छी’लाई सम्मान गर्ने निर्णय गरिएको महासचिव भरत लिमेलमगरले जानकारी दिनुभएको छ । सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने आयोजकले आज (शनिबार) डिजिटल प्लेटफम जुम (विद्युतीय माध्यम)मार्फत पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

रावासावा प्राज्ञिक समाजको साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा साहित्यकार, कवि तथा लेखकहरुको पुस्तक लोकार्पण, प्राज्ञिक बहस, अनुसन्धानमूलक जर्नल प्रकाशन तथा छलफल लगायतका विभिन्न कार्यक्रमसमेत राखिएको जनाइएको छ । दश स्थानीय तह रहेको खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाखोला र दक्षिणी क्षेत्रमा पर्ने सावाखोलाको नामबाट स्थापना गरिएको प्राज्ञिक संस्था ‘रावासावा प्राज्ञिक समाज’ले दुई÷दुई वर्षमा साहित्य, कला, सँगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

समाजको छैटौँ अधिवेशनमा कवि तथा साहित्यकार देवेन्द्र खेरेस र लेखक प्रल्हाद पोखरेललाई सम्मान तथा साहित्यकार पञ्चकुमारी परियार र गीतकार खुक्सन खम्बूलाई पुरस्कृत गरेको थियो । यसअघि जनही नगद रु २०÷२० हजारका दरले प्रदान गर्दै आइएको पुरस्कार राशी यस वर्षबाट वृद्धि गरेर जनही रु २५÷२५ हजार पु¥याइएको आयोजकले जनाएको छ ।

वि.सं. २०६५ असार–१८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आधिकारिक रुपमा दर्ता गरेर स्थापना गरिएको रावासावा प्राज्ञिक समाजले साहित्य, कला, सँगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा प्राज्ञिक काम गर्दै आएको छ । डा. विष्णु राई संस्थापक अध्यक्ष रहेको प्राज्ञिक समाजमा खोटाङमा जन्मिएर काठमाडौँलाई कार्य क्षेत्र बनाएर विभिन्न विद्यामा क्रियाशील प्राज्ञहरु आवद्ध छन् ।

तपाईको प्रतिक्रिया