खोटाङ, १९ वैैशाख । ‘द भ्वाइस अफ नेपाल’ छैटौँ सिजनको उपाधि दाबेदार रोशन राईलाई जिताउन खोटाङमा तीव्र अभियान चलाइएको छ । कोच (प्रशिक्षक) मेलिना राईको टिमबाट फाईनल प्रवेश गर्नुभएका राईलाई जिताउन जिल्लाका विभिन्न सङ्घसस्था तथा शिभचिन्तकले ‘रोशन राई जिताउ’ अभियानलाई तीव्र बनाएका हुन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७ टेम्माका राईलाई बुधबार उनी अध्ययनरत दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले साँस्कृतिक झाकीसहित स्वागत तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको थियो । सो स्कूलले रोशनको गायन प्रतिभाकै कारण पूर्ण छात्रवृत्तिमा एसएलसीसम्म अध्ययन गराएका थिए ।
कार्यक्रममा रोशन जिताउ अभियानकै टोलीमा रहेका गायक तथा सँगीतकार हसन राई, मनिता राई लगायतले प्रस्तुति दिएका थिए । रोशनलाई जिताउने उद्देश्यले आयोजक स्कूलको तर्फबाट एक लाख तथा अन्य शुभचिन्तकबाट स्वेछिक रुपमा रकम सङ्कलन गरिरहेकाछन् ।
बिहीबार साकेला गाउँपालिका हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गीत–सँगीतसहितको सहयोग अभियान सन्चालन गरिएको अभियन्ता तथा गीतकार गोपालचन्द्र राईले बताउनुभयो । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति प्रस्तुत हुने गायन रियालिटी सो द भ्वाईस अफ नेपालको यो श्रृङ्खलामा खोटाङकै ईन्द्रकला राईसमेत अघिल्लो चरणसम्म आइपुग्नुभएको थियो ।
एउटै जिल्ला र एउटै समुदायका दुई प्रतिस्पर्धी भएका कारण शुभचिन्तकका भोट बाँडिरहेको थियो । तर, कोच खेम सेन्चुरीको टिममा रहनुभएकी बुइपाकी ईन्द्रकला बाहिरिएपछि रोशनलाई उपाधि चुम्न सहज हुने आँकलन गरिएको छ ।
हङ्कङ लगायत देशका विभिन्न स्थानमा प्रस्तुति दिइसक्नुभएका रोशनको विभिन्न गीतहरु स्थापित भइसकेका छन् । रोशन गायन सँगसँगै सँगीतमा समेत खुबी राख्ने ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनका बलियो प्रतिस्पर्धीमा पर्नुहुन्छ ।
चार जना कोचको चारै जना प्रतिस्पर्धी रहेको भ्वाईसको ग्राण्ड फिनाले वैशाख–१९ गते शुक्रबार हुनेछ । फाईनलमा टिम मेलिनाबाट रोशनसँगै उदय सोताङबाट अर्पणा आचार्य, टिम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे र टिम राजु लामाबाट प्रमेश राई फाईनलिस्ट बनेका छन् ।
डिजिटल अडिसनमा सहभागी करिब ६० हजार आवेदकमध्येबाट छनौट भएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका थिए । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरु सहभागी बनेका थिए ।