रास्वपा खोटेहाङका सभापतिसहित ३० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित

Halesi Khabar

खोटाङ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिका सभापति प्रदीप आचार्यसहित ३० जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएका छन् । पार्टीका केन्द्रीय नेताहरुको कार्यशैलि तथा पार्टीको नीति जनपक्षीय नभएको भन्दै सभापति आचार्यसहितका नेता तथा कार्यकर्ताहरु बिहीबार माओवादी केन्द्रमा समाहित भएका हुन् ।

माओवादी केन्द्रले खोटेहाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँपालिका पार्टी सचिवालय सदस्य एवम् एमालेबाट खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्वाचित वडा सदस्य किरण राईसमेत माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । राईसँगै एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल प्रवेश गर्नुभएको माओवादी केन्द्रले जनाएको छ ।

समाहित भएका तथा पार्टी प्रवेश गर्नुहुने नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् खोटाङ पार्टी इन्चाज समिता कार्की ‘अस्मिता’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, खोटेहाङ पार्टी इन्चार्ज एवम् गाउँपालिका प्रमुख उदिमवहादुर राई ‘मुक्ति’, दिप्रुङ चुइचुम्मा पार्टी अध्यक्ष किशान राई, खोटेहाङ पार्टी अध्यक्ष दिपेन थुलुङ लगायतले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । माओवादी केन्द्रमा समाहित हुने तथा प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवारी दिएर पार्टीमा सक्रिय गराइने जिल्ला संयोजक आकाशले जानकारी दिनुभएको छ ।

समायोजन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संविधानसभा सदस्यसमेत रहनुभएकी नेतृ अस्मिताले देशभर माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ । “हाम्रो पार्टी माओवादी केन्द्र जनताको भरोसाको केन्द्र बन्दै गएको छ । यो त्यसै यस्तो भएको होइन”, उहाँले भन्नुभयो, “हाम्रो पार्टीको नीति राम्रो छ । हाम्रा नेताहरुले गद्दारी गरेका छैनन् । त्यसैले हाम्रो पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको हो । यसलाई निरासामा परिनत हुन दिँदैनौँ ।”

माओवादी केन्द्र खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा पार्टी प्रवेश, समायोजन तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जनाएको छ । जिल्लामा सञ्चालन गरिने पार्टी प्रवेश, समायोजन तथा प्रशिक्षण कार्यक्रमका लागि नेताहरुबीच कार्यविभाजनसमेत गरिएको माओवादी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया