खोटाङ, १८ वैशाख । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय ईन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु । त्यसपछि उनीहरुको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।”
बुबाआमा दुवै पत्ता नलागेका ईन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल नागरिकता ऐन २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई बंशजको आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका पेन्सनर)को घरमा आश्रय लिएर हुर्किनुभएका ईन्द्रबहादुरको .दुई छोरा (जेठा राजेश १८ तथा कान्छा आदेश १३ वर्ष)का छन् । ईन्द्रबहादुरले आश्रय लिएर बसेको घरधनी चक्रको सात वर्षअघि निधन भएको छिमेकीहरुले बताएका छन् ।
चक्रको निधन भएको तीन वर्षपछि (३३ वर्षको उमेरमा) त्यस घरबाट निकालिनुभएका ईन्द्रबहादुर अहिले ससुराली घरमा घरज्वाइँ भएर बसिरहनुभएको छ । चक्रले आफ्नै छोरा बनाएर नागरिकता बनाइ दिने, विवाह गरिदिने र अङ्शसमेत उपलब्ध गराउने सर्तमा त्यस घरमा आफूलाई राखेर काम लगाएको ईन्द्रबहादुरले बताउँदै आउनुभएको छ ।
चक्रको निधनपछि छोराछोरीबाट रु आठ लाख लिएर निस्किनुभएका ईन्द्रबहादुरलाई नागरिकता दिलाउन वडा कार्यालय बाम्राङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वि.सं. २०८१ भदौ–१७ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई छुट्टाछुट्टै सिफारिस गरेको थियो । चक्रको घरमा हुँदा नै बाम्राङकै स्थानीय दाहाल थरकी महिलासँग विवाह गर्नुभएका ईन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि वि.सं. २०८० माघ–७ गते गाउँ सर्जमिन गराएर वि.सं. २०४६ जेठ–१० गतेको जन्म मिति राखेर आफ्नो जन्मदर्ता प्रमाणित गराउनुभएको थियो ।
ईन्द्रबहादुरलाई नागरिकता दिलाउन आफू निर्वाचित भएर आएपछि फरकफरक प्रकृतिको पाँच पटक सिफारिस गरिदिएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभएको छ । “बुबाआमा टुङ्गो नभएका ईन्द्रबहादुर थापालाई नागरिकता दिने विषयमा बाम्राङवासी सबै सहमत थियौँ । धेरैले आफ्नो छोरा बनाएर नागरिकता दिन्छु पनि भनेका थिए”, उहाँले भन्नुभयो, “कानूनी प्रावधानका कारण त्यो सम्भव भएन । लामो समयको प्रयासपछि ईन्द्रबहादुरलाई अन्य तरिकाबाट हुर्किएका व्यक्ति भनेर नागरिकता दिलाउन सफल भएका छौँ । अब घरजग्गा व्यवस्था गरेर स्थापित गर्छौँ ।”
वडा कार्यालय बाम्राङ तथा नगरपालिकाको कार्यालय दिक्तेलबाट सिफारिससहित आवश्यक कागजात लिएर ईन्द्रबहादुर वि.सं. २०८१ भदौ–१८ गते जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । त्यसबेला शिवकुमार कार्की खोटाङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । तर, जिल्ला प्रशासन कार्यालय खोटाङले ईन्द्रबहादुरकोे कागजातमा नेपाल नागरिकता ऐन २०६३ को दफा ८ (ग) बमोजिम कानूनी संरक्षकका रुपमा पेश नभएको र अन्य संस्थागत संरक्षकत्वसमेत पेश नभएको भन्दै नागरिकताको सिफारिस दरपिठ गर्दै नागरिकता दिन इन्कार गरेको थियो ।
जिल्ला प्रशासनले नागरिकता दिन इन्कार गरेपछि ईन्द्रबहादुर कानून व्यवसायी अधिवक्ता ओमप्रकाश घिमिरेलाई गुहार्न दिक्तेलस्थित ‘कान्ति ल फर्म’ पुग्नुभयो । आफ्नो समस्या सुनाएपछि ईन्द्रबहादुरले अधिवक्ता घिमिरेलाई प्रोबोनो (निःशुल्क कानूनी सहायता दिने वकील) कानून व्यवसयीको रुपमा नियुक्त गर्नुभयो ।
प्रशासनले इन्कार गरेपछि नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित बनाएको भन्दै ईन्द्रबहादुरले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा बंशजका आधारमा नागरिकता दिन, दिलाउन भनी परमादेशको आदेशसहित माग लिएर रिट निवेदन दर्ता गराउनुभयो । अधिवक्ता घिमिरेमार्फत जिल्ला प्रशासन कार्यालय खोटाङ र प्रजिअ कार्कीविरुद्ध वि.सं. २०८१ मङ्सिरमा रिट निवेदन दर्ता गराउनुभएको हो ।
ईन्द्रबहादुरको रिट निवेदनमा न्यायाधीश धीरबहादुर चन्द र बबिता उप्रेतीको संयुक्त इजलासले इन्द्रबहादुरको पक्षमा परमादेश जारी ग¥यो । नेपाल नागरिकता ऐन २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ मा उल्लेखित कागजातहरु पेशगरी नेपाली नागरिकताको प्रमाणपत्र पाउँ भनी निवेदन पेश गरेको खण्डमा उक्त दफाको ८‐१ (ग) ३ बमोजिम नागरिकताको प्रमाणपत्र दिनु भनी विपक्षीहरुका नाममा वि.सं. २०८१ माघ–२३ गते परमादेशको आदेश जारी गरेको थियो ।
उच्च अदालतको परमादेशको फैसला र पत्र जिल्ला प्रशासनलाई पठाएपछि ईन्द्रबहादुर पुनः वि.सं. २०८१ फागुनदेखि नागरिकता लिन दैनिक प्रशासन धाउन थाल्नुभयो । अदालतले रिट निवेदकलाई नागरिकता दिनु भनेर फैसला गर्दा पनि जिल्ला प्रशासन कार्यालय खोटाङले दुई महिनासम्म नागरिकता नदिँदा ईन्द्रबहादुर निराश बन्नुभएको थियो ।
ईन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा नगरेकाले ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले प्रतिक्रिया दिनुभएको छ । “खोटाङमा यो पहिलो अभ्यास हो । सबै कुरा मन्त्रालयको सुझावको आधारमा गर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “ईन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि तुरुन्तै नागरिकता दिलाएका छौँ । यसमा हाम्रो कुनै कमजोरी छैन ।”
प्रशासनको पछिल्लो सेवा प्रवाहका विषयमा नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य विशाल भट्टराई लगायतले सामाजिक सञ्जालमा असन्तुष्टी पोख्दै आएका छन् । काँग्रेस खोटाङका प्रवक्ता रोजन राई र एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष गोपाल आचार्यले प्रशासनमै पुगेर नागरिकताको सन्दर्भमा जनताले अनावश्यक दुःख पाएको भन्दै ध्यानाकर्षणसमेत गराउनुभएको छ ।


