‘भ्वाईस अफ नेपाल’को फाईनलिस्ट रोशनलाई खोटाङमा भव्य स्वागत

Halesi Khabar

खोटाङ , १७ वैशाख । ‘द भ्वाईस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई ‘पालुवा स्टार’लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) मेलिना राईको समूह (टिम)बाट फाइन चरणमा पुग्नुभएका प्रतियोगी रोशनलाई आज (बुधबार) दिक्तेल बजारमा साँस्कृतिक झाँकीसहित स्वागत गरिएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा खोटाङका गायक रोशन दिक्तेल बजारको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’सहितको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लामा उपस्थित हुनुभएको भएको छ । प्रतियोगी रोशनसहितका टोलीलाई दिक्तेलस्थित किरातचोकदेखि हाटडाँडा हुँदै त्रिवेणीचोकमा आयोजना गरिएको कार्यक्रमस्थलसम्म ¥यालीसहित स्वागत गरिएको हो ।

पालुवास्टारले समेत परिचित भ्वाईसका प्रतिस्पर्धी रोशन सोही विद्यालयमा कक्षा–३ देखि माध्यमिक तह (एसएलसी)सम्म पूर्ण छात्रवृत्ति (स्कलरसिप)मा अध्ययन गर्नुभएको थियो । गायन प्रतिभामा अब्बल भएकै कारण सँगीत विद्याबाट माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले रोशनले पूर्ण छात्रवृत्तिमा अध्ययन गराएको हो ।

रोशनसहित टोलीमा आएका खोटाङकै गायिका मनिता राई, गायक तथा सँगीतकार हसन राई लगायतले गायत प्रस्तुति दिएको कार्यक्रममा रोशनको कोच गायिका मेलिना राई आउने भनिए पनि विशेष काराण आउन नसकेको जनाइएको छ । रोशनका लागि कार्यक्रमस्थलमा स्वेच्छिक सहयोग रकमसमेत जुटाइएको छ ।

‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनका फाईनलिस्ट रोशनलाई जिताउन माउण्ट एभरेष्ट बोर्डिङको तर्फबाट मात्रै एक लाख भोट उपलब्ध गराइने विद्यालयका सहायक प्रधानाध्यापक सगुन ताम्राकारले जानकारी दिनुभएको छ । “हाम्रो विद्यार्थी ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको फाईनलिस्ट बन्नुभएको छ । यो हाम्रो लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “रोशनलाई छैटौँ सिजनको उपाधि जिताउन सबैको सहयोग आवश्यक छ । बोर्डिङको तर्फबाट मात्रै एक लाख भोट उपलब्ध गराउने निर्णय गरेका छौँ ।”

गायनबाट स्थापित बनिसक्नुभएका रोशनलाई जिताउन उक्त विद्यालयसहित जिल्लास्थित विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरु जुटिरहेका छन् । भोट अपिलकै लागि भोलि (बुधबार) गृह पालिका दिप्रुङ चुइचुम्मा र छिमेकी पालिका साकेला गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको रोशन राई जिताउ अभियानमा सहभागीहरुले जनाएको छ ।

हङ्कङ लगायत देशका विभिन्न स्थानमा प्रस्तुति दिइसक्नुभएका रोशनको विभिन्न गीतहरु स्थापित भइसकेका छन् । रोशन गायन सँगसँगै सँगीतमा समेत खुबी राख्ने ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनका बलियो प्रतिस्पर्धीमा पर्नुहुन्छ ।

हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति प्रस्तुत हुने गायन रियालिटी सो द भ्वाईस अफ नेपालको यस श्रृङ्खलामा खोटाङकै ईन्द्रकला रोशनसमेत अघिल्लो चरणसम्म पुग्नुभएको थियो । एउटै जिल्ला र एउटै समुदायका दुई प्रतिस्पर्धी भएका कारण शुभचिन्तकका भोट बाँडिरहेको थियो ।

कोच खेम सेन्चुरीको टिममा रहनुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ईन्द्रकला बाहिरिएपछि रोशनलाई उपाधि चुम्न सहज हुने आँकलन गरिएको छ ।
चारजना कोचको चारैजना प्रतिस्पर्धी रहेको भ्वाइसको ग्राण्ड फिनाले आगामी यही वैशाख–१९ गते शुक्रबार हुनेछ ।

फाईनल राउण्डमा टिम मेलिनाबाट रोशनसँगै उदय सोताङबाट अर्पणा आचार्य, टिम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे र टिम राजु लामाबाट प्रमेश राई फाइनलिस्ट बनेका छन् । डिजिटल अडिसनमा सहभागी करिब ६० हजार आवेदकमध्येबाट छनोट भएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका थिए ।

अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुको समेत सहभागी बनेका थिए । द भोइस अफ नेपाल अन्तर्राष्ट्रिय टेलिभिजन गायनको वास्तविकता शृङ्खला द भोइसको एक नेपाली कार्यक्रम हो ।

तपाईको प्रतिक्रिया