खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख–२३ गतेदेखि २५ गतेसम्म खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो ।
दिक्तेल बजारस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्डहल’मा आयोजना गर्न लागिएको तीन दिवसीय प्रतियोगितामा खुला पुरुष डबल्स, मिक्स डबल्स, भेट्रान्स डबल्स (४० वर्षमाथिका) तथा शिक्षक, कर्मचारी, जनप्रतिनिधि डबल्स र १५ वर्षमूनिका सिङ्गल प्रतियोगिता गरिने ब्याडमिन्टन सङ्घले पत्रकार सम्मेलनमार्फत जनाएको छ । खुला पुरुष डबल्समा प्रथम हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार तथा सेमिफाइनलिष्ट दुई टिमले रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ब्याडमिन्टन सङ्घका जिल्ला अध्यक्ष आशिष थापाले जानकारी दिनुभएको छ ।
मिक्स डबल्समा प्रथम हुनेले रु २० हजार, दोस्रोले रु १५ हजार तथा सेमिफाइनलिष्ट दुई टिमले रु चार÷चार हजार, भेट्रान्स डबल्समा प्रथम हुनेले रु १५ हजार, दोस्रोले रु दश हजार तथा सेमिफाइनलिष्ट दुई टिमले रु चार÷चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । शिक्षक, कर्मचारी, जनप्रतिनिधि डबल्समा प्रथम हुनेले रु १५ हजार, दोस्रोले रु दश हजार र सेमिफाइनलिष्ट दुई टिमले रु चार÷चार हजार तथा १५ वर्षमूनिका सिङ्गलमा प्रथम हुनेले रु पाँच हजार ५००, दोस्रोले रु तीन हजार ५०० र सेमिफाइनलिष्ट दुई टिमले नगद रु एक हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
फरक–फरक उमेर समूह छुट्याएर पाँचवटा इभेन्ट (विद्या)मा आयोजना गर्न लागिएको प्रतियोगितामा ५० टिमको सहभागिता रहने अनुमान गरिएको आयोजकले जनाएको छ । जिल्लामा नयाँ खेलाडी उत्पादन गर्दै व्यवसायिकरुपमा खेलिरहेका खेडालीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले खुला अन्तर जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका सचिव मनोज राईले जानकारी दिनुभयो ।