खोटाङ, ९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट खेल मैदान निर्माणको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगरबाट प्राप्त रु आठ लाख बजेटमा लफ्याङको काफ्लेगाउँमा जिल्लाकै पहिलो क्रिकेट खेलमैदान निर्माणको काम शुरु गरिएको हो ।
लफ्याङको काफ्लेगाउँमा आठ रोपनी जग्गा व्यवस्थापन गरेर ‘लफ्याङ सिरान क्रिकेट खेलमैदान’ निर्माणको काम शुरु गरिएको सङ्घका अध्यक्ष रूपन राईले जानकारी दिनुभएको छ । “नयाँ पुस्तामा क्रिकेट खेलप्रति रुची जगाउने, क्रिकेटको प्रवद्र्धन गर्ने र ग्रामीण क्षेत्रमा क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेलमैदान निर्माण शुरु गरेका हौँ । निर्माणाधीन क्रिकेट खेलमैदानको लम्बाई ८७ मिटर र चौडाई ५७ मिटरको हुनेछ”, उहाँले भन्नुभयो, “ लफ्याङको काफ्लेगाउँमा निर्माण शुरु गरिएको क्रिकेट खेलमैदान जिल्लाकै पहिलो हो । यसलाई पूरा गर्न सबैको साथ, सहयोग र सुझाव आवश्यक छ ।”
क्रिकेट खेलमैदान निर्माणका लागि अघि सरेको क्रिकेट सङ्घलाई स्थानीय मझुवा सेवा समाजमा आबद्ध स्थानीयले पाँच रोपनी आठ आना जग्गा किनिदिएका छन् । यस्तै, डाँडाबारीका गोविन्द कटवालले एक रोपनी, खड्गबहादुर कटवालले एक रोपनी र धनमायाँ कटवालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।
क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी रु एक लाख दश हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलब्ध गराइएको मझुवा सेवा समाजका सदस्य भूपराज कटवालले बताउनुभएको छ । सदस्य कटवालकाअनुसार क्रिकेट खेलमैदानका लागि जग्गा खरिद गर्न मझुवा सेवा समाजका सदस्यहरुले सहयोग सङ्कलन गरेका थिए ।
गाउँबीचमा रहेको खेतीयोग्य जग्गामा क्रिकेट खेलमैदान बनाउनका लागि वडा कार्यालयले सहजीकरण गरेको थियो । खेलमैदानका लागि आवश्यक थप छ रोपनी जग्गा जुटाउन वडा कार्यालयले पहल गर्ने वडाध्यक्ष दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।
निर्माणाधीन क्रिकेट खेलमैदानसम्म पुग्ने करिब ८५ मिटर सडक निर्माणका लागि स्थानीय ताराकुमार कटवालले पनि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको सङ्घका अध्यक्ष राईले जानकारी दिनुभएको छ । जिल्लामै पहिलो क्रिकेट खेलमैदान लफ्याङमा निर्माण शुरु भएपछि खेलाडीहरुसमेत उत्साहित भएका छन् ।
दश स्थानीय तह रहेको खोटाङमा जिल्ला क्रिकेट सङ्घ गठन गरेर केही समय अघिदेखि विभिन्न गतिविधि गर्दै आए पनि हालसम्म नेपाल क्रिकेट सङ्घ (क्यान)को आधिकारिक सदस्यता भने पाएको छैन । १४ जिल्ला रहेको कोशी प्रदेशमा हालसम्म पाँचवटा जिल्लाले मात्र क्यानको सदस्यता पाएका छन् ।
क्यानको आधिकारिक सदस्यता पाउनका लागि विभिन्न आधारभूत कुराहरू पूरा गर्नुपर्ने भएकाले खेलमैदान निर्माण शुरु गरिएको क्रिकेट सङ्घका अध्यक्ष राईको बताउनुभएको छ । सदस्यता प्राप्तिका लागि आधारभूत कुराहरु तयार गरेर क्यानमा पेश गरिसकिएको जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।
क्यानको सदस्यता प्राप्त गरेपश्चात जिल्लामा थप क्रिकेट खेल सम्बन्धीका गतिविधिहरू बढाउने सङ्घका अध्यक्ष राईले बताउनुभएको छ । अबको केही महिना पश्चात नै खोटाङले क्यानको सदस्यता पाउने सङ्घले दाबी गरेको छ ।