खोटाङ, ८ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत आयोजनाको विद्युत वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रशारण लाइनमा समेत जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत गृह)बाट उत्पादन गरिएको जलविद्युत दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।
करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको हो ।
राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत उत्पादन गरेको प्रवद्र्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत उत्पादन गरेको पाइएको छ । जलविद्युत उत्पादन गर्दा कम्तिमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भएपनि सबै पानी ड्यामतर्फ लगेर खोला सुकाएको पाइएको हो ।
साप्सुखोलामा जलविद्युत प्रवद्र्धक कम्पनीले स्थापनाकालबाटै खोलामा पानी नछाडी जलविद्युत उत्पादन गरेपछि उसबेला स्थानीयवासीले विरोधसमेत जनाएका थिए । तर, सम्बन्धित निकायले हालसम्म पनि चासो नदिँदा जलविद्युत आयोजनाको बाँधभन्दा मुनिका खोलामा रहेका जलचर पूर्णरुपमा मासिएका छन् ।
जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्नका लागि खोला नै सुकाएर पानी फर्काएपछि खेतीपाती गर्नसमेत समस्या भएको स्थानीय कुमार बुढाथोकीले गुनासो गर्नुभएको छ । “साप्सुखोलामा सञ्चालित जलविद्युत आयोजनाको बाँधभन्दा मुनिका भागमा पानी सुकेर कमिलासमेत वारपार गर्नसक्ने अवस्था छ । यतिमात्रै होइन । यसअघि जिल्ला प्रहरी कार्यालयमा बसेर गरेको सम्झौतासमेत आयोजनाले कार्यान्वयन गरेको छैन”, उहाँले भन्नुभयो, “खोलै सुक्नेगरी पानी फर्काएर जलविद्युत आयोजना सञ्चालन गरेपछि आफूलाई चाहिएको समयमा खेतबारीमा पानी लगाउन पाएका छैनौँ । यसले गर्दा यस वर्ष चैते धान रोप्नसमेत समस्या भयो ।”
प्रवद्र्धक कम्पनीले खोलाको पानी नै सुकाएर जलविद्युत आयोजना सञ्चालन गरेको विषयमा आफूहरुले जिल्ला प्रशासन कार्यालय खोटाङमा समेत जानकारी गराएको स्थानीयवासीले बताएका छन् । खोला सुक्नेगरी जलविद्युत आयोजनाले पानी फर्काएको विषयमा आफूलाई अहिलेसम्म कुनै पनि निकायबाट जानकारी नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।
साप्सुखोला असला माछा पाउने जिल्लाका खोलामध्ये सबैभन्दा बढी पाउने खोलामा पर्दछ । बाँधदेखि ड्यामसम्मको करिब चार हजार २०० मिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुङ्गी तथा जङ्गली जनावरलाई समेत पानीको समस्या स्थानीयले बताएका छन् ।
खोलाको पानी नै सुकाएर साप्सुखोलाबाट जलविद्युत उत्पादन गर्ने आयोजनाका स्थानीय प्रमुख प्रदीप दाहालले भने, हिउँदको समयमा खोलामा पानीको वहाव घटेकाले कम भएको बताउनुभएको छ । “खोला नै सुकाउनेगरी ड्याममा पानी लगेका छैनौँ । तर, सुख्खा यामका कारण खोलामा पानी कम भएको छ”, उहाँले भन्नुभयो, “खोलामा भएको पानीको मात्राअनुसार कम्तिमा दश प्रतिशत हुनेगरी पानी छाडेका छौँ । यसलाई सम्झौता उल्लङ्घन गरेको भन्न मिल्दैन ।”
दश स्थानीय तह रहेको जिल्लाबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट उत्पालित साप्सुखोला जलविद्युत आयोजनासँगै तीनवटा जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत आयोजनासँगै केपिलासगढी गाउँपालिकाको वडा नं. ६ दिप्सुङ र वडा नं. ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको रावाखोला जलविद्युत आयोजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट उत्पादित एक मेगावाट क्षमताको साप्सुखोला जलविद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।
रावाखोला जलविद्युत आयोजनाले समेत मापदण्डअनुसार खोलामा पानी नछाडेको स्थानीयले गुनासो गुनासो गरेका छन् । स्थानीयबाट गुनासो आएपछि रावाखोला जलविद्युत आयोजना सञ्चालकलाई सम्पर्क गरेर मापदण्डअनुसार कम्तिमा दश प्रतिशत पानी छाड्न निर्देशन दिइएको प्रजिअ घिमिरेले जानकारी दिनुभएको छ ।