खोटाङ, ७ वैशाख । दश स्थानीय तह रहेको खोटाङका ९६ प्रतिशत घरधुरी उपभोक्ताले विद्युत उपभोग गरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण खोटाङले गरेको सर्वेक्षण अनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रशारण लाइन तथा दश प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत बलेको पाइएको हो ।
केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरधुरी उपभोक्तामा विद्युत पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वि.सं.२०५७ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले दिक्तेल बजारमा आएर केन्द्रीय प्रशारण लाइनको विद्युत औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो ।
विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरधुरी उपभोक्ताले विद्युत उपभोग गरिरहेका छन् । विद्युतीकरण हुन बाँकी जिल्लाका दुई हजार बढी घरधुरी उपभोक्तामध्ये कतिपयले अझै पनि मट्टीतेलको धिप्री तथा सोलार टुकीको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
विद्युत बल्न बाँकी घरहरुमा केन्द्रीय प्रशारण लाइनको विद्युत पु¥याउन रु पाँच करोड बजेट आवश्यक पर्ने विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । “हामीले गरेको सर्वेक्षण अनुसार जिल्लाका दुई हजार घरधुरी उपभोक्ताको घरमा विद्युतीकरण हुन बाँकी छ । यसका लागि हामीले केन्द्रमा बजेटसमेत माग गरेका छौँ”, उहाँले भन्नुभयो, “केन्द्रबाट बजेट स्वीकृत भएर आएको खण्डमा आगामी वर्ष नै जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुन्छ । त्यसका लागि सम्बन्धित ठाउँहरुमा पहल गरिरहेका छौँ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सवस्टेशनबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बू जिल्लाका उपभोक्तालाई विद्युत वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको केन्द्रीय प्रशारण लाइनको विद्युतमा पटक–पटक समस्या देखिने गरेको छ भने, उक्त समस्या दीर्घकालीनरुपमा समाधान गर्न टावर अनिवार्य जडान गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत आयोजनाबाट १०.६ मेगावाट विद्युत केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिकाको वडा नं. ६ दिप्सुङ र वडा नं. ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत बुइपास्थित ३३ केभी प्रशारण लाइनमा जोडिएका छन् ।
विद्युत प्राधिकरण खोटाङले दिएको जानकारी अनुसार जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रशारण लाइनको विद्युत पटक–पटक अवरुद्ध हुँदा उपभोक्ताहरु हैरानीमा पर्नेे गरेका छन् ।
यतिसम्म कि, जिल्लामा अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत अवरुद्ध हुने गरेको छ । एकै दिनमा दर्जनौँ पटक विद्युत आउने र जाने समस्याले तीन जिल्लाका सेवाग्राही उपभोक्ताहरु मारमा पर्दै आएका छन् ।
केन्द्रीय प्रशारण लाइनको विद्युत झ्याप्प आउने र झ्याप्प जाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीहरुको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत अवरुद्ध हुने गरेको प्राधिकरणले बताउँदै आएको छ ।