खोटाङ, ६ वैशाख । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । ठूला चउर र घाँसेमैदानको बीचमा अवस्थित पर्यटकीयस्थल इन्द्रेणीपोखरीको नामबाटै उक्त वडाको नाम इन्द्रेणीपोखरी राखिएको स्थानीय जानकारहरुले बताउने गरेका छन् ।
प्राकृतिकरुपमै पर्यटकीयस्थल रहेको इन्द्रेणीपोखरीको चौतर्फी विकास गर्न देशमा सङ्घीयता लागूभएसँगै स्तरोन्नतिको काम थालियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले रु दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेको छ ।
वर्षौँदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) रहेको इन्द्रेणीपोखरीमा हरेक सालको नयाँ वर्ष (वैशाख–१ गते) बृहत मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भूइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षण गर्नका लागि घेराबार निर्माणको काम गरिएको छ ।
इन्द्रेणीपोखरीको नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको इन्द्रेणीपोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत राखिएको थियो ।
राज्यकोषको रु २० लाख रकम खर्चेर निर्माण गरिएको इन्द्रेणीपोखरीमाथि राखिएको इन्द्रेणीको आकृति गत वर्षको हावाहुरीले ढालेपछि पुनः राखिएको छैन । फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणीपोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो ।
चारैतिर बस्तीको बीचमा पर्ने इन्द्रेणीपोखरीलाई थप सुन्दर र मनमोहक बनाउँदै पर्यटक भित्र्याउन गाउँपालिकाले थालेको पहलप्रति स्थानीयवासीसमेत हर्षित भएका थिए । तर, प्राकृतिकरुपमा बनेको इन्द्रेणीपोखरीको भूइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौँदेखि जम्मा भएको पानी सुकेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिामली श्रृङ्खला तथा तराईका फाँटहरु अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिएसँगै पोखरीको पानी सुकेपछि स्थानीयवासी निराश बनेका छन् ।
प्राकृतिक संचनालाई स्तरोन्नति गर्नेक्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले बताउनुभएको छ । “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ । इन्द्रेणीपोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिन”, उहाँले भन्नुभयो, “बिना अध्ययन इन्द्रेणीपोखरीमा संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले इन्द्रेणीपोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।”
इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थलहरु जोड्न सडकमार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाहै्र महिना वनभोज खाने र दृष्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सकेपछि समस्या भएको स्थानीयले बताएका छन् ।
इन्द्रेणीपोखरीमा प्रदेश सरकारको रु ४० लाख तथा खोटाङबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईको संसदीय विकास कोषको रु २० लाख रकम खर्च भएको छ । खोटेहाङ गाउँपालिकाका तत्कालीन प्रमुख प्रदीपकुमार राई नेतृत्वको स्थानीय सरकारले पर्यटन प्रवद्र्धन शीर्षकको योजना बनाएर पटक–पटकगरी रु एक करोड ५२ लाख बढी बजेट विनियोजन गरेर खर्च गरेको हो ।
पर्यटन प्रवद्र्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानीमा स्तरोन्नति गरिएको इन्द्रेणीपोखरीमा पानी सुकेपछि लामो समयदेखि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभएको छ । “इन्द्रेणीपोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिकरुपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने गर्नेक्रममा गरिएको ढलानसमेत चिरा–चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो, “स्तरोन्नति गरिएको इन्द्रेणीपोखरीको पानी सुकेपछि राज्यकोषको ठूलो लगानी खेर जाने अवस्थामा छ । यसलाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाको बजेटले सम्भावना छैन ।”
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरुले पनि आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छन् । त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, जन्तेढुङ्गा, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरु स्तरोन्नतिको काम शुरु गरिएको हो ।


