बसाइँ गएको अठार वर्षपछि पुनः गाउँ फर्किएका परिवारलाई रु एक लाख प्रोत्साहन

Halesi Khabar

खोटाङ, ५ वैशाख । अठार वर्ष पहिले बसाइँ जानुभएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित आफ्नै गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ । वि.सं. २०६३ सालमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका बलार्दह बसाइँ जानुभएका खड्का परिवारसहित बसाइसराइँको कागजातसहित पुनः आफ्नै गाउँ फर्किएर घर निर्माण शुरु गरेपछि गाउँपालिकाले उहाँको घरैमा लगेर प्रोत्साहन रकमको चेक प्रदान गरेको हो ।

आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिर्सन नसकेर बसाइँ गएको १८ वर्षपछि चारजनाको परिवारसहित बसाइँसराइको कागजात लिएर पुनः आफ्नै गाउँ फर्किएको खड्काले बताउनुभएको छ । “बसाइँ सरेर गएको ठाउँमा यहाँभन्दा धेरै भौतिक सुविधा थियो । तर, आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिसर्न सकिनँ”, उहाँले भन्नुभयो, “बसाइँ सरेर गएपनि यहाँको जग्गा जमिन बेचेको थिइनँ । हामीले छाडेपछि बाँझिएको जमिन पुनः गाउँ फर्केर आएपछि खनजोत शुरु गरेका छौँ । अब यही उत्पादन हुने अन्नबाली उपभोग गर्दै बस्नेगरी कानूनी रुपमै फर्किएका हौँ ।”

गाउँ फर्किएलगत्तै परिवार बस्ने घर निर्माणको काम शुरु गर्नुका साथै बाँझो जग्गा खनजोत गरिरहनुभएका खड्का परिवारलाई गाउँपालिका प्रमुख शालिकराम बञ्जराले वैशाख–४ गते बिहीबार निर्माणाधीन घरैमा लगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गर्नुभएको बराहपोखरी गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिनुभएको छ । गाउँपालिकाले प्रदान गरेको प्रोत्साहन रकमको चेक बुझ्नुहुँदै खड्काले आफू र आफ्नो परिवारलाई पुनः स्थापित हुनका लागि गाउँपालिकाले ठूलो सहयोग गरेको भन्दै गाउँपालिकालाई धन्यवादसमेत ज्ञापन गर्नुभएको छ ।

आगामी दिनमा गाउँपालिकावासीहरु कोही पनि सुविधाको खोजिमा अन्यत्र बसाइँ सर्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी गाउँपालिकाले भौतिक पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका प्रमुख बञ्जराले बताउनुभएको छ । “गाउँपालिकाका हरेक वडामा भौतिक पूर्वाधारका संरचनाहरु धमाधम निर्माण गरिरहेका छौँ । हावापानीको हिसाबले पनि तराईका जिल्लाहरुभन्दा हाम्रो भूमि बसोवासका निम्ति उत्तम छ”, उहाँले भन्नुभयो, “अब सुविधाको खोजिमा कोही पनि बसाइँ सरेर अन्यत्र जानुपर्दैन । यसअघि गएकाहरुका लागि पनि गाउँ फर्क अभियान चलाएका छौँ । भर्खरै आफ्नो जन्मभूमिलाई माया गरेर फर्किएका एक परिवारलाई प्रोत्साहनवापत रु एक लाख रकम उपलब्ध गराइएको छ । आगामी दिनमा यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजनामा छौँ ।”

पछिल्लो समय सुविधाको खोजिमा बसाइँसराइ गर्नेहरुका कारण वर्षेनी जनङ्ख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि गाउँ फर्क अभियान चलाएका छन् । जिल्लाका दशवटै स्थानीय तहले गाउँ फर्क अभियान चलाए पनि अहिलेसम्म यसअघि बसाइँ सरेर अन्यत्र गएकाहरु पुनः आफ्नो गाउँ फर्किएर आएका छैनन् ।

जिल्लाको सबैभन्दा सानो (पाँचवटा मात्र वडा रहेको) साकेला गाउँपालिकाले बसाइँ गएकाहरुलाई मात्र नभइ अन्य स्थानीय तहबाट बसाइँ सरेर आउनेलाई समेत प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम ल्याएको छ । तर, अहिलेसम्म उक्त गाउँपालिकामा यसअघि बसाइँ गएका तथा अन्य स्थानीय तहका कोही पनि बसाइँ सरेर आएका छैनन् ।

पछिल्लो समय जिल्लाका दशवटै स्थानीय तहमा विकास पुगे पनि त्यहाँका स्थानीयवासी भने, सुविधाको खोजिमा शहर पस्नेक्रम तीव्र छ । स्थानीयवासीको सुविधाका लागि खनिएका अधिकांश सडकहरुमा पुनः बोटबिरुवा उम्रिएर झाडी बनेका छन् ।

यतिमात्र नभइ शैक्षिक क्षेत्रको सुधारका लागि जिल्लाका सामुदायिक विद्यालयहरुमा ठूल्ठूला भवनहरु निर्माण गरिएका छन् । राज्यकोषको ठूलो लगानीमा निर्माण गरिएका विद्यालय भवनहरु बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवनहरु प्रयागविशीन हुने अवस्था सिर्जना भएको छ ।

बसाइँसराइ रोक्नका लागि नेपालका तीनवटै तहका सरकारले दीर्घकालीन योजना निर्माण गर्नुपर्ने विश्लेषकहरुले बताउँदै आएका छन् । अन्यथा अबको केही वर्षभित्र ग्रामीण भेगका गाउँवस्तीहरु रित्तिने अवस्था आउने उनीहरुको दाबी छ ।

तपाईको प्रतिक्रिया