खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर दुईजना पुरुषको मृत्यु

Halesi Khabar

खोटाङ, ४ वैशाख । छुट्टाछुट्टै घटनामा परी खोटाङमा दुईजना पुरुषले एकैदिन ज्यान गुमाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गंगाप्रसाद ढकालको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरवपालिका–३ च्यास्मिटारका ६० वर्षीय भियुनशेर राईको भीरबाट लडेर ज्यान गएको हो ।

जङ्गलबाट आएको बाँदर धपाउन जानुभएका गंगाप्रसाद ढकाललाई विद्युतको पोलमा प्रवाह भएको करेन्ट आज (बिहीबार) दिउँसो लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभएको छ । “शुरुमा चट्याङ लागेर मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको थियो । घटना भएको जानकारी पाएलगत्तै जिल्लाबाट खटिएर गएको टोलीले हेर्दा करेन्ट लागेर मृत्यु भएको रहेछ”, उहाँले भन्नुभयो, “जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले घटनास्थल सुरक्षित गरेर राखेको छ । भोलि बिहान घटनास्थलको मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला ल्याउने योजना बनाएका छौँ ।”

बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा दिउँसो करिब १ः०० बजे करेन्ट लागेर गंगाप्रसाद ढकालको मृत्यु भएको पुष्टि भएको बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले जानकारी दिनुभएको छ । “मृतक गंगाप्रसाद ढकाल परिवारसहित घर नजिकैको बारीमा मकै गोड्न जानुभएको रहेछ । जङ्गलबाट हुल बाँधेर आएको बाँदर बारीमा प्रवेश गरेपछि धपाउन जाँदा करेन्ट लागेर उहाँको मृत्यु भएको देखिन्छ”, उहाँले भन्नुभयो, “मृतक ढकालको बायाँ हात करेन्टले जलेको छ । ठाउकोमा चोट लागेको छ । ढकालको मृत्यु हुनासाथ विद्युत प्रवाह बन्द भएको अनुमान गरिएको छ । विद्युत प्रवाह बन्द नभएको भए अन्यको पनि सोही घटनामा ज्यान जाने रहेछ ।”

मकै गोड्दागोड्दै खाली खुट्टा बाँदर धपाउन गएको श्रीमान विद्युतको पोल नजिकै ढलेपछि श्रीमती र बहिनी ढकाललाई उठाउन गएको बुझिएको छ । उनीहरुले उठाउँदा ढकालको मृत्यु भइसकेको पाएपछि गाउँले तथा प्रहरीलाई खबर गरेको जनाइएको छ ।

घटनास्थलको विद्युत पोलमा जडान गरिएको विद्युतको तार जलेर टुक्रा–टुक्रा भएको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । विद्युत प्राधिकरणको लापरबाहीले ढकालको मृत्यु भएको भन्दै आफन्तहरु विद्युत प्राधिकरणप्रति आक्रोशित भएका छन् ।

घटनाको विषयमा छानविन भइरहेको घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । सर्जमिन चुलुल्का रात परेकाले प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा आफन्त मृतक ढकालको शव पर्खेर घटनास्थलमै बसेका छन् ।

उता, च्यास्मिटारका भियुनशेरले नातिसँग उदयपुर जाँदै गरेको अवस्थामा घुम्तीस्थित ठूलोखोला नजिकैको भीरबाट लडेर आज (बिहीबार) बिहान ज्यान गुमाएको प्रत्यक्षदर्शीले बताएका छन् । साँघुरो बाटो रहेको ठूलोखोला नजिकैको भीरको माथिबाट करिब ७० मिटर तल खस्नुभएका भियुनशेरको ढुङ्गामा बज्रिएर घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।

मृतक भियुनशेरको शव परीक्षणका लागि बिहीबार साँझ जिल्ला अस्पताल दिक्तेल ल्याइएको आफन्तले बताएका छन् । शव परीक्षण गृहमा राखिएको भियुनशेरको शव भोलि (वैशाख–५ गते) बिहान परीक्षण गरेर आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया