निःशुल्क पाइने ९८ प्रकारका औषधिमध्ये जिल्ला अस्पताल खोटाङमा १२ प्रकारका औषधी मात्र उपलब्ध

Halesi Khabar

खोटाङ, ४ वैशाख । सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधिमध्ये जिल्ला अस्पताल खोटाङमा १२ प्रकारका औषधी मात्रै पर्याप्त रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ९८ प्रकारका निःशुल्क औषधी उपलब्ध गराउने व्यवस्था भए पनि जिल्ला अस्पतालमा १२ प्रकारका औषधी मात्रै उपलब्ध रहेको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डाक्टर रुपेश सङ्ग्रौलाले जानकारी दिनुभयो ।

निःशुल्क भनिएका ९८ प्रकारका औषधि जिल्लामा हालसम्म आएका छन्÷छैनन्?
“सरकारले ९८ किसिमका औषधी निःशुल्क उपलब्ध गराउने भने पनि जिल्लामा अहिले १२ प्रकारका मात्र छ”, डा. सङ्ग्रौलाले भन्नुभयो, “माथिल्लो निकायले जति उपलब्ध गरायो त्यति औषधि मात्रै जिल्ला अस्पतालले वितरण गर्दै आइरहेको छ ।” निःशुल्क भनिएका ९८ प्रकारका औषधी अहिलेसम्म कहिलै पनि आइनपुगेको जिल्ला अस्पतालको भण्डारण शाखाले जनाएको छ । अस्पताल स्रोतका अनुसार माथिल्लो निकायबाट आएको निःशुल्क औषधी जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्याको आधारमा वितरण गर्ने गरिएको छ ।

यस विषयमा अहिलेसम्म स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यान नगएको स्थानीयवासिन्दाले बताएका छन् । जिल्लाका कतिपय स्वास्थ्य संस्थामा त अहिले सिटामोलसमेत नरहेको स्रोतले जनाएको छ । निःशुल्क पाइने औषधी स्वास्थ्य संस्थामा नभएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले दोब्बर मुल्य लिएर निजी कम्पनीको औषधीको व्यापार गर्दै आएका छन् ।

निःशुल्क औषधी वितरण गर्ने व्यवस्था रहेपनि अस्पतालमा सामान्यदेखि जटिल किसिमका बिरामीले बाहिरबाट आफैँले खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको बिरामीको गुनासो छ । बिरामीको रोगअनुसार निःशुल्क आउने सबैखाले औषधि अस्पतालमा नहुँदा बिरामीले अन्यत्रबाटै खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको अस्पताल स्रोतले जनाएको छ ।सरकारले निःशुल्क उपलब्ध गराउने औषधि अस्पतालमा नभएपछि सर्वसाधारण सामान्य उपचारका लागिसमेत सुविधा सम्पन्न अस्पताल जान बाध्य छन् । कतिपय अवस्थामा त सामान्य किसिमका बिरामीले साढे दुई लाख देखि तीन लाख तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ ।

जिल्ला अस्पताल खोटाङका  निमित्त सुपरिटेन्डेन्ट डाक्टर सङ्ग्रौलासँग गरिएको कुराकानी

अस्पतालमा १०–१२ प्रकारका निशुल्क औषधि मात्रै, सेवाग्राही मारमा
निःशुल्क औषधि जिल्ला अस्पतालमा उपलब्ध नहुँदा सेवाग्राहीले बाहिर बाटै लिनु पर्ने अवस्था रहेको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डाक्टर सङ्ग्रौलाले जानकारीदिनुभयो । निःशुल्क पाइने औषधिहरु जिल्ला अस्पतालमा उपलब्ध गराउन स्थानीय तह, (नगरपालिका–गाउँपालिका) स्वास्थ्य कार्यालय र प्रदेशको आपूर्ती व्यवस्थापन शाखासँग पनि समन्वय गरिरहैकै छौं,। तर, हामीले पहल गर्दा गर्दै पनि अस्पतालमा निःशुल्क पाइने औषधि उपलब्ध गराउन नसकिएको डाक्टर सङ्ग्रौलाले बताउनुभयो ।

स्वास्थ्य विमाको कार्यक्रम सङ्कटमा
राज्यबाट जुन स्वास्थ्य विमा कार्यक्रम अन्तरगत अस्पतालबाट प्रयोगशालामार्फत ÷उपचार÷ सेवा लिएर त्यो रकम विमा वोर्डसँग स्रोत भर्ना दावी गर्ने व्यवस्था रहे पनि जिल्ला अस्पताल खोटाङमा गत असार महिनादेखि विमाबाट हुनुपर्ने रकम भुक्तानी हुन नसकेको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डाक्टर सङ्ग्रौलाले जानकारी दिनुभयो । “विमा वापतको रकम आगामी असार मसान्तसम्म पनि सो रकम भुक्तानी आउने ÷नआउने टुङ्गो छैन्। अर्को आर्थिक वर्षका लागि पनि जति रकम व्यवस्थापन भएको छ, यो आर्थिक वर्षकै रकम तिर्न नसक्ने परिस्थिती भएको कारणले पनि हामिले जुन परामर्ष सेवा, औषधिहरु खरीद गरेर स्वास्थ्य विमा कार्यक्रमबाट दिनु पर्ने हो,त्यो अहिले हामिले सेवाग्राहीलाई दिन अत्यन्तै असजिलो भइरहेको छ ।” कतिपय नियमित सुगर, प्रेसरका विरामीहरुले खाने औषधिहरु पनि हामिले स्वास्थ्य विमाबाट उपलब्ध गराउन नसकिएको र अब यही परिस्थिती दिनानुदिन बढ्दै जाने हो भने, हामीले विमाबाट दिने सम्पूर्ण सेवा सुविधाहरु सेवाग्राहीलाई दिन नसक्ने अवस्थामा अस्पताल पुग्ने सङ्ग्रौलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया