‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न, स्थानीयवासी उत्साहित

Halesi Khabar

खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसर पारेर नगरपालिकाले वैशाख–१ र २ गते पर्यटकीयस्थल हुर्लुङमा आयोजना गरेको दुई दिने महोत्सव सम्पन्न भएको हो ।

संसारकै लोपोन्मुख वन्यजन्तुको सूचिमा रहेको रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वैशाख–१ र २ गते महोत्सव आयोजना गरिएको थियो । दुई दिने महोत्सवको अवसर पारेर ‘रेडपाण्डा तथा थार रुट’को शुभारम्भ तथा नक्सासमेत सार्वजनिक गरिएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट रुपाकोट हुँदै बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको छ । रेडपाण्डा तथा थार रुटको औपचारिक शुभारम्भ अभिनेता एवम् मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को सद्भावना दूत दयाहाङ राईले गर्नुभएको छ ।

महोत्सवमा विभिन्न समुदायका संस्कृति झल्किने सांस्कृतिक झाँकी, रैथाने खानपान, भेषभूषा, रहनसहनसँग सम्बन्धित छुट्टाछुट्टै स्टल (कक्ष) राखिएको थियो । जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवमा राई, मगर, शेर्पा, तामाङ, गुरुङ, नेवार, ब्राम्हण, क्षेत्री लगायत विभिन्न जातजातिको स्टल आकर्षणको केन्द्र बनेको थियो ।

स्थानीय समुदायको सक्रियतामा आयोजित महोत्सवले पर्यटन एवम् होटल व्यवसायीहरु उत्साहित भएका छन् । हुर्लुङमा आयोजित दुई दिने महोत्सवमा राखिएका स्टल सञ्चालक तथा होटल व्यवसायीले लाखौँको कारोबार गर्न सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राईले जानकारी दिनुभएको छ ।

महोत्सवको पहिलो दिन (वैशाख–१ गते) अतिथिहरुसहित पर्यटकीयस्थल रुपाकोट पुगेर वास बसिएको थियो । समुन्द्री सतहदेखि दुई हजार ६०० मिटर उचाईमा पर्ने रुपामोटमा रातभर जुहारी (गीतको भाकामार्फत सवाल–जवाफ फकाृउने काम) गाउनुका साथै आज (वैशाख–२ गते) बिहान सूयोद्धयको दृष्य, सर्वोच्च शिखर सगरमाथा, तराईका फाँट लगायतको दृष्यावलोकन गरिएको हो ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरपालिकालाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको औपचारिकरुपमा शुभाराम्भ गरिएको नगरपालिकाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट करिब तीन दिनको यात्रामा पूरा हुन्छ । रुपाकोट आफैमा पर्यटकीय क्षेत्र हो”, उहाँले भन्नुभयो, “रुपाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुर्लुङ हुँदै रुपाकोटबाट मुन्दुम ट्रेल जोड्ने मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पहिचान गरिएको छ । यो रुटले नगरपालिकाको आयस्रोत वृद्धिमा समेत टेवा पुग्नेछ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभिनेता राई, राजनीतिक विश्लेषक तथा अर्थविद हरि रोका, पूर्व सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो । उद्घाटन तथा समापन कार्यक्रमका वक्ताहरुले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०८२ को अवसर पारेर पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको थियो । जिल्लामै पहिलो पटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको स्टलहरुमा तस्वीर तथा भिडियो खिच्ने स्थानीयवासीको भीड लागेको थियो ।

आगामी वर्ष रेडपाण्डा तथा थारसम्न्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने पूर्व तयारीस्वरुप यस वर्ष ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “पर्यटकीयस्थल हुर्लुङमा आयोजना गरिएको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ भव्यरुपमा सफल भयो । सबैको साथ, सहयोग र सहकार्यले सफल भएको हो”, उहाँले भन्नुभयो, “आगामी वर्ष रेडपाण्डा तथा थारसम्न्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना बनाएका छौँ । अन्तर्राष्ट्रिय सम्मेलनका लागि पर्यटन मन्त्रालय तथा विश्वविद्यालयहरुसँग छलफल शुरु भएको छ । यसले जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ ।”

गत पुसमा औपचारिकरुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचिमा सूचिकृत गरेको छ ।

मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना महोत्सव गर्ने तयारी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया