खोटाङ, २ वैशाख । दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबहादुर राई नियुक्त हुनुभएको छ । क्याम्पस सञ्चालक समितिको गत चैत–३० गते बसेको बैठकले वैशाख–१ गतेदेखि लागू हुनेगरी राईलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
वि.सं. २०५२ सालदेखि नियमित प्राध्यापन गर्दै आउनुभएका नवनियुक्त क्याम्पस प्रमुख राईले आज (मङ्गलबार) औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको दिक्तेल बहुमुखी क्याम्पसको नवनियक्त क्याम्पस प्रमुख राई छैटौँ क्याम्पस प्रमुख हुनुभएको हो ।
पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनियुक्त क्याम्पस राईले क्याम्पसको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । “शैक्षिक संस्थाको प्रमुख भएकोले सबैभन्दा पहिलो प्राथमिकता शैक्षिक गुणस्तर सुधारमा मेरो ध्यान केन्द्रित हुन्छ । शैक्षिक गुणस्तर सुधारसँगै भौतिक पूर्वाधार विकासमा समेत ध्यान दिनेछु”, उहाँले भन्नुभयो, “हाम्रो समाजमा पछिल्लो समय संस्कार तथा संस्कृति हराउँदै गएको छ । मेरो चार वर्षे कार्यकालमा यसतर्फ पनि सुधारको प्रयास हुनेछ ।”
सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभएका राईलाई वरिष्ठताका आधारमा क्याम्पस प्रमुख नियुक्त गरिएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले जानकारी दिनुभएको छ । जिल्लाकै पहिलो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा यसअघि नरेन्द्र राजभण्डारी, बम थुलुङ, शेरबहादुर तामाङ, डा. शुकराज राई र हीराकुमार राई क्याम्पस प्रमुख रहनुभएको थियो ।
दिक्तेल बहुमुखी क्याम्पसमा निवर्तमान क्याम्पस प्रमुख हीराकुमार दुई कार्यकाल क्याम्पस प्रमुख हुनुभएको थियो । हीराकुमारको पालामा शैक्षिक गुणस्तर सुधारका साथै भौतिक पूर्वाधार विकासमा क्याम्पसले फड्को मारेको पाइएको छ ।
निवर्तमान क्याम्पस प्रमुख हीराकुमारकै पालमा विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । गत वि.सं. २०८१ पुस–१९ गते बसेको विश्वविद्यालय अनुदान आयोगको बैठकले दिक्तेल बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गरिरहेको छ । दिक्तेल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीसमेत अध्ययन गर्दै आएका छन् ।
दिक्तेल बहुमुखी क्याम्पसमा मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको विषय अध्ययन÷अध्यापन हुँदै आएको छ । छात्रा आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका भौतिक सुविधा उपलब्ध रहेको छ ।
कक्षा–११ देखि स्नातकोत्तरसम्म अध्ययन÷अध्यापन हुने क्याम्पसमा ६८६ जना विद्यार्थी अध्ययनरत छन् । जिल्लाकै पूरानो तथा केन्द्रमा पर्ने दिक्तेल बजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसको चौतर्फी विकासमा सबैको चासो बढेको छ ।


