प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ : ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ

Halesi Khabar

खोटाङ, १ वैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ शुरु भएको छ । विश्वमै लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटकन प्रवद्धन गर्ने उद्देश्यका साथ नगरपालिकाले पर्यटकीयस्थल हुर्लुङमा वैशाख–१ र २ गते (दुई दिने) महोत्सवको आयोजना गरेको हो ।

दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धि पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादनहरु स्टलको रुपमा राखिएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरुसमेत स्टलको रुपमा प्रदर्शन गरिएको छ ।

नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिताहुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीयवासीसमेत उत्साहित भएका छन् । महोत्सवमा राखिएका स्टलहरु स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने, संस्कार–संस्कृति झल्कने झाँकी प्रर्दशनमा स्वतःस्फूर्त सहभागी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासनका प्रमुख तथा प्रतिनिधि, चर्चित नायक दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्ता लगायतको उपस्थिति रहेको महोत्सवको औपचारिक उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर गर्नुभएको छ । महोत्सव उद्घाटन कार्यक्रमका वक्ताहरुले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिएका छन् ।

महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “किरात उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको छ । यो रुटको औपचारिक शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का सद्भावनादूत एवम् चर्चित अभिनेता दयाहाङ राईले गर्नुभएको छ”, उहाँले भन्नुभयो, “महोत्सवले नगरपालिकाको पर्यटन प्रवद्र्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ । ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को प्रवद्र्धन तथा विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।”

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकखण्डको पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको छ । जिल्लामै पहिलो पटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको स्टलहरुमा तस्वीर तथा भिडियो खिच्नेको भीड लागेको छ ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरपालिकालाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को औपचारिकरुपमा शुभाराम्भ गरिएको नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “करिब तीन दिनको यात्रामा पूरा हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ शुभारम्भ कार्यक्रमको पहिलो दिन अतिथिहरुसहित रुपाकोट पुगेर बास बस्ने र जुहारी कार्यक्रम खेल्ने कार्यक्रम राखेका छौँ । रुपाकोट आफैमा पर्यटकीय क्षेत्र हो”, उहाँले भन्नुभयो, “समुन्द्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल रुपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली श्रृङ्खला, सूर्योदयको दृष्य, तराईका मनोरम फाँटहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । ती मनोरम दृष्यहरु भोलि (वैशाख–२ गते) अवलोकन गर्नेछौँ ।”

गत पुसमा औपचारिकरुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचिमा सूचिकृत गरेको छ ।

मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना महोत्सव गर्ने तयारी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ । दुई जिल्लाका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यको रुपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया