खोटाङ, ३० चैत । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज–१२ गते सुनकोशी नदीमा आएको भीषण बाढीले बगाएको फोक्सिङटार मोटरेबल पक्की पुल पुनः निर्माणका लागि रु ३५ करोड बजेट सुनिश्चित भएको हो ।
खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र छिमेकी जिल्ला उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने मोटरेबल पक्की पुल पुनः निर्माणका लागि नेपाल सरकार, अर्थमन्त्रालयले बजेट सुनिश्चित गरेको संविधानसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभएको छ । “फोक्सिङटार पुलको डिजाइन बिल्ड वा मन्त्रालय आफैले गर्ने टुङ्गो लाग्न बाँकी छ । कसरी छिटो सम्पन्न गर्न सकिन्छ त्यही प्रकारको बनाउने कुरा भएको छ । पुलको डिजाइन टुङ्गो लागेपछि ठेक्का खुल्छ”, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “फोक्सिङटार पुल जिल्लावासीको लाइफलाइन (दैनिक जीवन)सँग जोडिएको छ । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य छ । अर्को वर्षदेखि फेरि अस्थायी बेलिब्रिज जडान गर्न नपरोस भन्नेमा सबैको ध्यान केन्द्रित छ ।”
देशभर ठूलो क्षति गर्नेगरी आएको बाढीले पुल बगाएको ठाउँमा पुनः अर्को मोटरेबल पुल निर्माणका लागि नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थमन्त्रालय समक्ष माग गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माग गरेअनुसार अर्थमन्त्रालयले बजेट सुनिश्चित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल, सचिव केशव शर्मा र महानिर्देशक रामहरि पोखरेलले जानकारी दिएको नेता भट्टराईले बताउनुभएको छ ।
खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल पुनः निर्माण हुने चर्चाले जिल्लावासीलाई केही उत्साहित बनाएको छ । दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी तराईका विभिन्न सहर जाने र आउने छोटो दूरीको बाटो हो । तर, बाढीले फोक्सिङटारको पुल बगाएपछि वर्षायाममा दिक्तेल–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद हुने निश्चित भएको छ ।
दिक्तेल–गाईघाट सडकखण्ड (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज गत पुस–२७ गतेदेखि सञ्चालन ल्याइएको हो ।
निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै वि.सं. २०७९ पुस–७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले बगाएका कारण सम्बन्धित निर्माण कम्पनीले नै फोक्सिङटारको मोटरेबल पक्की पुल पुनः निर्माण गर्नुपर्ने बहस पनि चलिरहेको छ ।
फोक्सिङटारको मोटरेबल पक्की पुल वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले वि.सं. २०६९ चैत–२३ गते सम्झौता गरेको थियो । निर्माण शुरु गरेको दश वर्षपछि सम्पन्न गरिएको फोक्सिङटार पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा निर्माण गरिएको हो ।
ठेकेदारको चरम ढिलासुस्तीका कारण जिल्लावासीले फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न दश वर्ष कुर्नु परेको थियो । तर, बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको छ ।
कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्नुअघि पनि अस्थायी बेलिब्रिज राख्ने र झिक्ने गरिएको थियो । देशभर ठूलो क्षति गर्नेगरी गत असोज–१२ र १३ गते आएको भीषण वर्षापछिको बाढीले फोक्सिङटार पुल बगाएपछि पुनः सोही नियति दोहोरिएको हो ।
फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो । तर, पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै काढीले बगायो । यो खोटाङ्गे जनताका लागि दुःखको कुरा हो”, उहाँले भन्नुभयो, “फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”
देशभर जनधनको ठूलो क्षति गर्नेगरी सात महिनाअघि आएको बाढीले फोक्सिङटार पुल बगाएपछि निर्माणको जिम्मा लिने ठेकेदार कम्पनी तथा राजनीतिक दलका नेताहरुको ब्यापक आलोचना भइरहेको छ । कमिशनको लोभमा निर्माण गर्नुअघि ठेकेदारसँगको मिलेमतोमा गलत डिजाइन गरेर कमसल किसिमको पुल बनाइएकाले बाढीले बगाएको उनीहरुको आरोप छ ।