खोटाङ, २८ चैत । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । आज (बिहीबार) वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमायाँ खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो ।
छितापोखरीकी कृष्णमायाँको घर माथि र देविकाको केही मुनि पर्दछ । कृष्णमायाँ घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमायाँ बेहोस बन्नुभएको आफन्तले बताएका छन् ।
स्थानीयका अनुसार चट्याङ परेकोबेला कृष्णमायाँको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायाँलाई बेहोस अवस्थामा भेटिएको बताइएको छ ।
देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं. २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ ।
देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरु दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पु¥याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो ।
यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा कृषकहरुलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलो पटक आज (बिहीबार) वर्षा भएको हो ।
लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका कृषकहरु हर्षित भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि कृषकहरु वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।