किराती प्रथम राजा यलम्बरको शालिक निर्माण सकियो, वैशाखमा अनावरण गर्ने तयारी

Halesi Khabar

खोटाङ, २२ चैत । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्क निर्माणको काम शुरु गरिएको हो ।

माझ किरात भनेर चिनिने खोटाङको किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपामा निर्माण शुरु गरिएको यलम्बरको शालिकको काम सम्पन्न भइसकेको छ भने, पार्क निर्माणको काम तीव्रगतिमा भइरहेको छ । कोशी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यलम्बर पार्क निर्माण आयोजनामा करिब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।

उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको यलम्बर पार्कको काम ९५ प्रतिशत पूरा भएको ठेकेदार कम्पनीका प्रतिनिधि एवम् तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्ध÷निर्देशक सुनिल राईले जानकारी दिनुभएको छ । “किराती प्रथम राजा यलम्बरको ११० फिट अल्गो शालिक निर्माणको काम सम्पन्न गरिसक्यौँ । अहिले शालिकमा होलिजिन लाइट जडान तथा पार्कभित्र इन्टरलक इँटा (सिमेन्ट र रोडा प्रयोग गरेर बनाइएको) बिच्छ्याउने काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वैशाख पहिलो हप्तासम्ममा निर्माणाधीन पार्कको सबै काम सम्पन्न हुन्छ । हामीले जिम्मा लिएका सबै काम सम्पन्न गरेर वि.सं. २०८२ वैशाख–१० गते नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा छौँ । आधुनिक प्रविधिसहितको पार्क वैशाख–२९ गते अनावरण गर्ने योजनामा छौँ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ल्याएर अनावरण गर्नेगरी सल्लाह भइरहेको छ ।”

बुइपाका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र (हरेक हप्ताको शुक्रबार मेला लाग्ने ठाउँ) पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्कको प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गृहको काम यसअघि नै सम्पन्न गरिएको थियो । किराँत ऐतिहासिकस्थल बुइपामा निर्माणाधीन यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो भएको निर्माण उपभोक्ता समितिले दाबी गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण शुरु गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ । “यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ । चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल शालिक राखेका छौँ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।”

आफ्नो क्षेत्रमा किराती प्रथम राजा यलम्बरको धलौटको शालिकसहितको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेपछि बुइपाका स्थानीयवासी समेत हर्षित भएका छन् । बुइपामा स्थापना गरिएको किराती प्रथम राजा यलम्बरको शालिक विश्वकै अग्लो र ठूलो हुनुका साथै आधुनिक प्रविधिको यलम्बरपार्क निर्माण भएपछि जिल्लाको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

किरात समुदायको ईतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभएको छ । “यलम्बरपार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “निर्माणाधीन यलम्बरपार्कलाई नगरपालिकाले गौरवको आयोजनामा राखेको छ । पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा हुनेछ ।”

कालोपत्रको काम भइरहेको सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवत÷जावत गर्नसमेत सहज हुने जनाइएको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण शुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

यलम्बरपार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र सोही नगरपालिकाको वडा नं. १० अर्खौलेको सिमानामा पर्ने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजनासमेत बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बरपार्कलाई निक्कै महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया