खोटाङ, ९ चैत ः नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन आज (शनिबार) ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा उपचारका लागि नाम दर्ता गराएका २५७ जना बिरामीमध्ये ३४ जनाको सफल शल्यक्रिया गरिएको हो ।
दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आँखा शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बास जस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ जना चिकित्सक टोलीले सेवा प्रदान गरिरहेका छन् ।
जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी शुरु गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यसअघि चैत–४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, ३९२ जनाको आँखा जाँच, ३४ जना जेष्ठ नागरिकलाई निःशुल्क पावरसहितको चस्मा वितरण र ३१० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
नेत्रज्योति सङ्घले यही चैत–१४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यो पटकको शिविरमा जिल्लाका करिब दुई हजार १०० जना आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा एक हजार ५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिनुभएको छ ।
दिक्तेलमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गर्नुभएको छ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै खोटेहाङमा पनि दोस्रो चरणमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिने जनाइएको छ ।
वि.सं. २०६० वैशाख–१० गतेबाट जिल्लामा औपचारिकरुपमा सेवा शुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार ५०१ जनाको उपचार गरिसकेको जनाइएको छ । सेवा शुरु गरेयता जिल्लाका तीन हजार ३८ जना जेष्ठ नागरिकलाई रिडिङ ग्लास (पढ्नका लागि लगाइने चस्मा) निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ ।
एकपटक एउटा ठाउँमा पुगेर निःशुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको रु तीन लाख ५० हजारदेखि रु चार लाखसम्म खर्च हुने जनाइएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।


