खोटाङ, ९ चैत । चट्याङ लागेर र बार्दलीबाट लडेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी २१ महिने शिशु अनुसोया पोखरेलको मृत्यु भएको हो ।
शनिबार बिहान करिब ४ बजेको समयमा दिलकुमारीलाई घरको आँगनमा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेर मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिनुभयो ।
दिलकुमारीको चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले शनिबार बिहान ७ ः३० बजे प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटनास्थल गएको जनाइएको छ ।
घटनास्थल पुगेर आवश्यक कानूनी प्रक्रिया पूरा गर्न जिल्लाबाट प्रहरी निरीक्षकको टोलीसमेत घटनास्थल जाँदै गरेको डिएसपी विष्टले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेपछि मृतक दिलकुमारीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइने जनाइएको छ ।
यता, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाडौँ लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाको २१ महिनाकी छोरी अनुसोया पोखरेलको मृत्यु भएको हो ।
दिक्तेलस्थित चिल्ड्रेनपार्क नजिकैको एक घरमा कोठा भाडा लिएर बस्दै आउनुभएका पोखरेल दम्पतीकी छोरी अनुसोया शुक्रबार साँझ बार्दलीबाट लडेर गम्भीर घाइते बनेकी थिइन् । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी अनुसोयाको बाहिरी चोट भने नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बार्दलीबाट लडेर झरेलगत्तै अनुसोयालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरेपछि सुमो गाडीमा काठमाडौँ उपचारका लागि पठाइएको थियो ।
उपचारको लागि काठमाडौँ लगिएको शिशु अनुसोयाको जयराम पुगेपछि गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उपचारमा काठमाडौँ पठाइएकी अनुसोयाको बाटैमा मृत्यु भएपछि शनिबार बिहान दिक्तेल ल्याएर शव परीक्षण गर्ने तयारी गरिएको डिएसपी विष्टले जानकारी दिनुभएको छ ।


