डढेलोले दुर्छिममा चार घर तथा दुई मटान जल्यो, डढेलो अझै नियन्त्रण बाहिर

Halesi Khabar

खोटाङ, ८ चैत । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा डढेलोबाट चार घर तथा दुई मटान जलेर नष्ट भएका छन् । दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र गणेशटारका जगबहादुर राई, रुङकाडोका रणबहादुर राई तथा चुमाखुकै वीरगञ्ज राई र दिलकुममारी राईको मटान जलेर जलेर नष्ट भएको हो ।

सुनकोशी किनारबाट शुरु भएको डढेलो तेर्सालुङ सामुदायिक वन हुँदै गाउँ पस्दा बिहीबार बेलुका दुर्छिमका स्थानीयवासीको चारवटा घर तथा दुईवटा मटानमा क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । “गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भएका छौँ । डढेलो नियन्त्रणमा लिनका लागि इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको ठूलो सहयोग रह्यो”, उहाँले भन्नुभयो, “आगलागीमा मानवीय क्षति भएको छैन । घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवारहरुलाई सुरक्षित स्थानमा सारेर राखेका छौँ । आगलागीमा भएको क्षतिको विवरण भने, आउन बाँकी छ ।”

सामुदायिक वनमा लागेको डढेलो दुर्छिमका विभिन्न गाउँ तथा वस्तीमा छिर्न थालेपछि स्थानीयवासीको भागाभाग चलेको प्रत्यक्षदर्शीले बताएका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिममा डढेलोबाट आगलागी भएको समयमा हुरिबतास चलिरहेकाले ठूलो क्षति भएको नगर प्रवक्ता गिरीले बताउनुभएको छ ।

गाउँ पसेको डढेलो नियन्त्रणमा आए पनि सामुदायिक वनमा भने, नियन्त्रण बाहिर रहेको जनाइएको छ । सामुदायिक वनमा लागेको डढेलोले करोडौँ मूल्यको जडीबुटी, काठपात, जङ्गली जनावर तथा चराचुरुङ्गीमा क्षति पुगेको स्थानीयवासी एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तामन राईले जानकारी दिनुभएको छ ।

दुर्छिमका सामुदायिक वनमा लागेको डढेलोको कारण अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्लाका अधिकांश सामुदायिक वनमा उपभोक्ता आफैले आगजनी गर्ने गरेको समाचार स्रोतको दाबी छ ।

हिउँदको समयमा झरेको पात÷पतिङ्गर डढाएर वर्षामा घाँस उमार्नका लागि जानाजान सामुदायिक वनमा आगजनी गर्ने गरेको स्रोतले जनाएको छ । जानाजान अरबौँको क्षति हुनेगरी सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने व्यक्तिहरुलाई अहिलेसम्म कुनै पनि निकायले कारबाहीको दायरमा ल्याएका छैनन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा यसअघि गत फागुन–४ गते वडा नं. ७ महादेवस्थानस्थित हलेसी बजारमा चार घर तथा यही चैत–४ गते वडा नं. २ डिकुवामा नौँ घर जलेर नष्ट भएको थियो । त्रिधार्मिकस्थल हलेसी बजारमा खाना पकाउने ग्याँसको सिलिन्डरबाट सल्किएको आगो रु सात करोड ५० लाख तथा डिकुवामा डढेलो गाउँ पस्दा भएको आगलागीमा रु ७७ लाख बढीको क्षति भएको छ ।

हलेसी बजारका आगलागी पीडितका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलन भएको रु २२ लाख राहत रकम उपलब्ध गराएको छ भने, डिकुवाका लागि सङ्कलन भइरहेको जनाइएको छ । डिकुवावासीका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले प्रतिघर पीडितका लागि रु १५÷१५ हजार तथा नगरपालिकाले रु दश÷दश हजार नगद उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया