नयाँ वर्ष–२०८२ को अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ गर्ने तयारी

Halesi Khabar

खोटाङ, ७ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष अर्थात् वि.सं. २०८२ वैशाख–१ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख वन्यजन्तको सूचिमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वडा नं. २ सोल्मास्थित हुर्लुङमा दुई दिने महोत्सवको आयोजना गरेको हो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन, स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरु स्टलको रुपमा प्रदर्शनी गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “महोत्सवको लागि वडा नं. १० पाथेकाका वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । यसले नगरपालिकाको पर्यटन प्रवद्र्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको समेत शुभारम्भ गर्ने योजना बनाएका छौँ । यसको शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत एवम् चर्चित अभिनेता दयाहाङ राईले गर्नुहुनेछ ।”

किरात उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै आएको मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोट हुँदै बगरेभञ्ज्याङ, सिर्धन चौतारो, सिकुरीभञ्ज्याङ, लहरेमाने, बानियाँपाटी, साप्सुढाप, मेरुङ, तीनथुम्कीबाट मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको नगरपालिकाले आज (बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आगामी वैशाख–१ गतेबाट औपचारिक रुपमा शुभारम्म गर्न लागिएको ‘रेडपाण्डा–थार रुट’को स्तरोन्नतिसमेत शुरु गरिएको जनाइएको छ ।

छोटो समयमै विश्वको ध्यान खिचेको मुन्दुम ट्रेलसँग नगरपालिकालाई जोडेर पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को औपचारिकरुपमा शुभाराम्भ गर्ने योजना बनाइएको नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “करिब तीन दिनको यात्रामा पूरा हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ शुभारम्भ कार्यक्रमको पहिलो दिन सद्भावनादूत अभिनेता दयाहाङ राईसँगै रुपाकोटमा बास बस्ने योजना बनाएका छौँ । रुपाकोट आफैमा पर्यटकीय क्षेत्र हो”, उहाँले भन्नुभयो, “समुन्द्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल रुपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली श्रृङ्खला, सूर्योदयको दृष्य, तराईका फाँटहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । ती मनोरम दृष्यहरु अभिनेता दयाहाङ राईसँगै जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय प्रशासनका प्रमुखहरु सहभागी भएर अवलोकन गर्ने तयारी गरिएको छ ।”

नगरपालिका क्षेत्रमा पाइने रेडपाण्डा तथा थारको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । महोत्सवलाई प्रभावकारी बनाउन रेडपाण्डा खोजिका लागि वन क्षेत्रमा निस्किएका नगरपालिकाको टोलीले रेडपाण्डा फेला पारी फोटो तथा भिडियोसमेत खिचेर ल्याएका छन् ।

विश्वमै दुर्लभ वन्यजन्तुको सूचिमा रहेको रेडपाण्डा नगरपालिका क्षेत्रभित्रकै सामुदायिक वनमा फेला परेपछि नगरपालिकाले आज (बिहीबार) खुसीयालीसमेत साटासाट गरेको छ । स्थानीयवासीले रेडपाण्डा रहेको जानकारी दिएपछि वडा नं.६ नेर्पाका अध्यक्ष माधव राईको नेतृत्वमा गएको टोलीले वडा नं. १० पाथेकास्थित पर्यटकीय क्षेत्रमा पर्ने मेरुङ सामुदायिक वनमा रेडपाण्डा फेला पारेको हो ।

गत पुसमा औपचारिकरुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचिमा सूचिकृत गरेको छ ।

मुन्दुम टे«लको परिकल्पनाकार तथा अभियन्ता रमेश राईकाअनुसार पछिल्लो समय सरदर वार्षिक ३५ हजार आन्तरिक तथा वाह्य पर्यटकले मुन्दुम पदमार्गमा यात्रा गर्ने गरेको छ । रेडपाण्डा–थार महोत्सवका साथै शुरु गरिने रेडपाण्डा–थार टे«लले मुन्दुम टे«लको प्रचारप्रसार तथा प्रवद्र्धनमा महत्वपूर्ण प्रभाव पार्ने अभियन्ता राईको भनाइ छ ।

मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना महोत्सव गर्ने तयारी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ । दुई जिल्लाका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यको रुपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया