खोटाङ, ६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका १०४ वटा माध्यमिक विद्यायबाट तीन हजार २२६ जना विद्यार्थी सहभागी हुँदैछन् । चैत–७ गते (भोलि)देखि देशभर एकैसाथ शुरु हुने एसइई परीक्षाका लागि खोटाङमा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
साधारणधार र प्राविधिकधार गरी दुईथरीका पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थी सहभागी हुने परीक्षामा साधारधारतर्फ दुई हजार ४८३ जना विद्यार्थी रहेका छन् । यस्तै, प्राविधिकधारतर्फ नियमित १७२ जनामात्र परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।
साधारणधारतर्फ ग्रेड वृद्धि गर्नेमा ५७१ जना विद्यार्थी रहेका छन् भने, प्राविधिकधारतर्फ एकजना पनि नरहेको जनाइएको छ । जिल्लाका ९८ वटा सामुदायिक तथा छवटा निजी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरिएको इकाई प्रमुख विश्वकर्माले जानकारी दिनुभएको छ ।
चैत–१९ गतेसम्म सञ्चालन हुने परीक्षा अन्तरगत चैत–७ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने जनाइएको छ । परीक्षा हरेक दिन बिहान ८ः०० बजेबाट शुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा सञ्चालन हुन लागेको एसइईलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्णरुपमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ । प्रशासनले बुधबार बुधबार अनुरोधपत्र जारी गर्दै जिल्लामा सञ्चालन हुने एसइईलाई सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्न राजनीतिक दल, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षकसँग सम्बन्धित पेशागत सङ्घसङ्गठन, अभिभावक, विद्यार्थी तथा नागरिकसमक्ष आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जारी गर्नुभएको अनुरोधपत्रमा केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल फोन निषेध गरिएको जानकारी गराइएको छ । अनुरोधपत्रमा भनिएको छ, “परीक्षामा खटिएका केन्द्राध्यक्ष बाहेक अन्यको हकमा मोबाइल निषेध गरिएको र विद्यार्थी भाइबहिनीहरुमा मोबाइल, किताब, नोटबुक, गेसपेपर लगायत अन्य पठन सामग्री परीक्षा केन्द्रमा लैजान पूर्णरुपमा निषेध गरिएको छ ।”
प्रशासनले परीक्षामा सहभागी विद्यार्थीले परीक्षालाई डर र त्रासका रुपमा नलिइ आफूले जानेका र पढेका कुरालाई निर्धक्क भएर लेख्नसमेत आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले गत वर्षको एसइईमा जिल्लाका दुईवटा परीक्षा केन्द्रमा शिक्षक र विद्यार्थीले मोबाइल फोनमार्फत अमर्यादित काम गरेको फोला पारेपछि मुद्धा चलाएको थियो ।


