गाउँ पसेको डढेलोले घर, विद्यालय र खानेपानीको पाइप जल्दा रु ७७ लाख बढीको क्षति

Halesi Khabar

खोटाङ, ६ चैत । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दशवटा घर, एउटा विद्यालय र खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएको छ । चैत–३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट शुरु भएको डढेलो अनियन्त्रित भइ गाउँ पस्दा स्थानीयवासीको दशवटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति गरेको हो ।

आगलागीबाट अदम राईको दुईवटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीनवटा बाख्रा जलेर नष्ट भएको छ । दिउँसोको समयमा भएको आगलागीबाट मानवीय क्षति नभए पनि राईको रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रतिवेदनले देखाएको छ ।

सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको एउटा फुसको छाना भएको घर, गोठ तथा गोठमा बाँधिएका एउटा भैँसीको पाँडो र तीनवटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट राईको रु सात लाख बराबरको क्षति भएको अनुमान गरिएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभएको छ ।

यस्तै, सोही स्थानका नगेन्द्र राईको फुसको छाना भएको दुईवटा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा रु १२ लाख बराबरको क्षति भएको छ । आगलागीमा स्थानीय पविन्द्रकुमार राईको फुसको छाना भएको घर र गोठ जल्दा रु नौँ लाख, हिराधन राईको फुसको छाना भएको घर र गोठ जल्दा रु नौँ लाख, कृष्णबहादुर राईको फुसकै छाना भएको घर र गोठ जल्दा रु सात लाख, चयनकुमार राईको फुसको छाना भएको घर, मटान तथा गोठ जल्दा रु सात लाख क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने डिकुवाको विभिन्न गाउँमा फैलिएको डढेलोले स्थानीय टंकबहादुर राईको फुसको छाना भएको घर जल्दा रु पाँच लाख तथा स्थानीय रनबहादुर राईको घरमा आशिंक क्षति हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । सोही डढेलोले स्थानीय छोटा राईको चरनका लागि जङ्गलमा छाडिएको छवटा बाख्रा र चारवटा खसी जलेर मर्दा रु एक लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीमा स्थानीय नाईखोला मुहान भएको बाल्चुङ–बाघखोर खानेपानी आयोजनाको ३२ मिलिलिटरको एक हजार २०० र २५ मिलिलिटरको ९०० मिटर पोलेथिन पाइप जलेर नष्ट रु दुई लाख बराबरको क्षति भएको जनाइएको छ । बाल्चुङ, बाघखोर र च्यानटारका ३२ घरधुरी उपभोक्ताले उपभोग गर्दै आएको नाईखोला मुहान खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएपछि खानेपानी अभाव भएको छ ।

यस्तै, सोही ठाउँको मैतञ्जु–थुम्की खानेपानी आयोजनाको ३२ मिलिलिटरको दुई हजार १०० मिटर लामो पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको छ । उक्त खानेपानी आयोजनाबाट मैतञ्जु र थुम्कीका १३ घरधुरी स्थानीय उपभोक्ताले खानेपानी उपभोग गर्दै आएका थिए ।

डिकुवाका आगलागी पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ, हलेसी तुवाचुङ नगरपालिका र रेडक्रसले राहत सामग्री उपलब्ध गराएका छन् । डढेलो गाउँ पसेर भएको आगलागीका घटनाबाट बिचल्लीमा परेका डिकुवावासीको लागि तत्काल राहत तथा पुनःस्थापनामा ध्यान दिन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बुधबार संसदमा विशेष समय लिएर सरकारको ध्यानाकार्षणसमेत गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया