खोटाङ, ५ चैत । दश स्थानीय तह रहेको खोटाङमा त्रिभुवन विश्वविद्यालय काठमाडौँको सम्बन्धनप्राप्त सातवटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । तर, त्रिविले तोकेको निर्वाचन कार्यतालिकामा यस वर्ष खोटाङका कुनै पनि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन सकेन ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा दिक्तेल बहुमुखी क्याम्पस, त्रिधार्मिकस्थल हलेसी बजारमा हलेसी क्याम्पस, रावाबेँसी गाउँपालिकाको खार्पामा रावा क्याम्पस, साकेला गाउँपालिकाको रतन्छामा साकेला क्याम्पस, खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा खोटाङ क्याम्पस तथा सिम्पानी बजारमा सिम्पानी क्याम्पस र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा चिसापानी क्याम्पस सञ्चालनमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बखेडाका कारण जिल्लाका सातवटै क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको अन्य विद्यार्थी सङ्गठनहरुले आरोप लगाएका छन् ।
दिक्तेल बहुमुखी क्याम्पसमा एमाले अखिलले झिकेको बखेडाका कारण सहमति जुट्न नसकेपछि जिल्लाका सबै क्याम्पसमा यस वर्षको स्ववियु निर्वाचन हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का कोशी प्रदेश अध्यक्ष शम्भु घिमिरेले बताउनुभयो । “दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचन गराउन हर प्रयास ग¥यौँ । तर, एमाले अखिलका कारण सम्भव भएन”, उहाँले भन्नुभयो, “जिल्लाको सबैभन्दा धेरै विद्यार्थी भएको दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचन नभएपछि अन्यमा पनि गराउने पक्षमा लागेनौँ ।”
त्रिविले माघ–११ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मात्र मतदानमा सहभागी गराउनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । एमाले अखिलले त्योभन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई समेत मतदानको अधिकार दिनुपर्ने माग राखेपछि अन्य विद्यार्थी सङ्गठनले फागुन–१५ गतेसम्म भर्ना भएका विद्यार्थीलाई समेत मतदानमा सहभागी गराउने लिखित सहमति गरेको थियो ।
निर्वाचन गराउन एमाले अखिलको माग बमोजिम सबै सहमति गरिए पनि आफू पराजित हुने निश्चित भएपछि विभिन्न बखेडा झिकेर एमाले अखिल निर्वाचनबाट भागेको नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ खोटाङका अध्यक्ष मोतिचन्द्र राईले बताउनुभयो । “देशको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेस हो । त्यो हिसाबले नेपाल विद्यार्थी सङ्घ पहिलो सङ्गठन हो । एमाले अखिलले सङ्गठन दर्ता गर्नेक्रममा समेत आफ्नो सङ्गठन पहिलो हुनुपर्ने माग राख्यो । हामीले निर्वाचन सम्पन्न गर्ने सर्तमा लिखितरुपमा नै पहिलो नम्बरमा दर्ता गर्न दियौँ”, उहाँले भन्नुभयो, “सहमतिपछि फागुन–२५ गते निर्वाचन समितिले बैठक बोलायो । उनीहरु बैठकमा सहभागी भएनन् । राति अबेरसम्म पर्खिएर बस्यौँ । एमाले सहभागी नभएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाउन समितिलाई आग्रह ग¥यौँ । निर्वाचन समितिले एउटा सङ्गठनलाई बाहिर राखेर निर्वाचन गर्न नसक्ने भन्दै फागुन–२६ गते राजीनामा दियो । यो दुःखद् कुरा हो ।”
आफूहरु निर्वाचनमा जाने तयारी गर्दागर्दै निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएर निर्वाचनको प्रक्रिया नै रोकेपछि दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचन सम्भव नभएको अनेरास्ववियुका अध्यक्ष विष्णु उपरकोटीले बताउनुभयो । “निर्वाचन समितिले फागुन–२६ गते बिहान नौँ बजे बैठक बोलाएको थियो । म दिक्तेल बाहिर भएकाले समयमा उपस्थित हुन सकिन”, उहाँले भन्नुभयो, “बिहान दश बजो क्याम्पस पुगेर सम्पर्क गर्दा निर्वाचन समिति नै भङ्ग भइसकेको रहेछ । त्यही कारण निर्वाचन रोकिएको हो ।”
निर्वाचन समितिका संयोजक कृष्णबहादुर राईले भने, निर्वाचनका लागि दर्ता भएका सङ्गठनहरुलाई सहमति गरेर बैठकमा आउन पटक–पटक आग्रह गर्दासमेत नेविसङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियू बाहेक अन्य सङ्गठन सहभागी नभएपछि फागुन–२६ गते बेलुका आफूहरुले राजीनामा दिएको जानकारी दिनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचनका लागि पाँचवटा विद्यार्थी सङ्गठन दर्ता भएको थियो ।
एउटा विद्यार्थी सङ्गठनको स्वार्थका कारण जिल्लाका सातवटै क्याम्पसमा स्ववियु नेतृत्वविहीन हुनु दुःखद् भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी खोटाङका अध्यक्ष डार्विन चाम्लिङले बताउनुभयो । जिल्लाका सात क्याम्पसमध्ये साकेलामा निर्वाचन समिति नै गठन नभएको तथा अन्यमा गठन गरेर सङ्गठन दर्ता भए पनि त्रिविको कार्यतालिकाभन्दा फरक तरिकाले एमाले अखिलको इसारामा निर्वाचन समितिले गतिविधि गरेकाले निर्वाचन गराउन सम्भव नभएको अन्य सङ्गठनको आरोप छ ।


