सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा एउटा विद्यालयसहित सात घर जलेर नष्ट

Halesi Khabar

खोटाङ, ४ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खोटाङमा एउटा सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका स्थानीयवासीको सातवटा घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर गाउँ पस्दा साबिक डिकुवा गाउँ विकास समिति (गाविस)को वडा नं. ६ का स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको जनाइएको छ । डढेलोबाट डिकुवामा भएको आगलागीका घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी एवम् डिकुवाका पूर्ववडा सदस्य घनश्याम राईले जानकारी दिनुभएको छ । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुईकोठे प्रशासनिक कार्यालय भवन डढेलोले जलेर नष्ट भएको जनाइएको छ ।

जङ्गलमा लागेको डढेलो गाउँ पसेर क्षति गर्न थालेपछि नियन्त्रणको प्रयास भइरहेको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभएको छ । “साबिक डिकुवा गाविसको वडा नं. १, २, ४, ५ र ६ का सामुदायिक वनमा डढेलो फैलिएको छ । गाउँ पसेको डढेलो नियन्त्रणका लागि स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरी खटिएका छन्”, उहाँले भन्नुभयो, “डढेलो लागेको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ । नियन्त्रण बाहिर रहेको डढेलो गाउँ छिर्दा घरमा लागेको आगो निभाउन पानी छैन । घरमा लागेको आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको छ ।”

दाम्लीको नबेल्खा जङ्गलमा चैत–३ गते शुरु भएको डढेलोले डिकुवाका अन्य घरहरुमा समेत क्षति पुग्ने सम्भावना देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागी नियन्त्रणका लागि दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएर आएका नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पार्ने हलेसी तुवाचुङ नगरपालिकामा गत फागुन–४ गते पनि आगलागी भएको थियो । वडा नं. ७ महादेवस्थानस्थित हलेसी बजारका स्थानीय पदमशेर राईको घरबाट सल्किएको आगोले चार घर जलेर नष्ट भएको थियो ।

रातको समयमा भएको आगलागीबाट रु सात करोड ३० लाख बराबरको क्षति भएको प्रहरीको प्रतिवेदनले देखाएको थियो । खाना पकाउने ग्याँस लिक भएर सल्किएको आगोबाट पीडित बनेका चार घर स्थानीयवासीलाई नगरपालिकाले पहिलो चरणमा रु २२ लाख राहत रकम उपलब्ध गराएको छ ।

आगलागीबाट पूर्ण क्षति व्यहोर्नुभएका पदमशेर राई र ओइराख राईलाई रु नौँ÷नौँ लाखका दरले तथा आंशिक क्षति व्यहोर्नुभएका प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई रु दुई÷दुई लाखका दरले राहत वितरण गरिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट सङ्कलित राहत रकमको चेक नगरप्रमुख विमला राईले आगलागी पीडितहरुलाई हस्तान्तरण गर्नुभएको जनाइएको छ । तस्वीर उपलब्ध छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया