खोटाङ, २ चैत । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले आज (शनिबार) खोटाङको त्रिधार्मिकस्थल हलेसी र दिक्तेलको कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुभएको छ । दिक्तेलस्थित धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिरको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबालाई दिक्तेल ल्याएको हो ।
हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका कालीदास बाबाले त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेपछि दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरेमा पूण्य प्राप्त नहुने बताउनुभएको छ । दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूण्य प्राप्त गरिने उहाँले बताउनुभयो ।
कालिका भगवती मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कालीदास बाबाले जो कोही दर्शनार्थीले वा धर्मावलम्बीले दूधकोशीको जलले स्नान नगरे वा हलेसीको मात्र दर्शन गरे उहाँहरुले पुण्य कमाउन नसक्ने बताउनुभएको छ । “हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्ताजनले दिक्तेलको कालिका भगवती मन्दिरसमेत पुग्नुपर्छ । यसरी गरिएको पूजाअर्चनाले मात्रै भक्तजनको मनोकाङ्क्षा पूरा हुने धार्मिकग्रन्थमा लेखिएको छ”, उहाँले भन्नुभयो, “जसले हलेसी मन्दिरको दर्शन गरेर कालिका भगवतीको दर्शन गर्छ । उसले मात्र पुण्य कमाउँछ ।”
धर्मग्रन्थमासमेत हलेसी र कालिका भगवतीको एकआपसमा सम्बन्ध रहेका भेटिएकाले आगामी दिनमा हलेसीको दर्शनपछि दिक्तेलको मझुवा कालिका भगवतीको दर्शन अनिवार्यरुपमा गर्न भक्तजन तथा दर्शनार्थीलाई आग्रहसमेत गर्नुभएको छ । सयौँ भक्तजनको उपस्थितिमा कालीदास बाबाले कालिका भगवतीको दर्शन तथा पूजाआजा गर्नुभएको थियो ।
कालिका भगवतीको दर्शन तथा प्रचार–प्रसारमा आउनुभएका कालीदास बाबालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले सम्मान गर्नुका साथै मायाँको चिनोसमेत प्रदान गरेको छ । विश्वप्रसिद कालीदास बाबाको दर्शन र पूजापाठले कालिका भगवती मन्दिरको प्रचार–प्रसारमा ठूलो टुवा पुगेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।
वि.सं. १७५० मा रणवीर राई र विरञ्ची आचार्यले एउटै किसिमको सपना देखेपछि मझुवामा गएर हेर्दा कालिका भगवती पत्ता लागेको इतिहास छ । किरात ऐतिहासिकस्थल मझुवागढी नजिकै रहेको कालिका भगवती मन्दिरमा मनोकाङ्क्षा पूरा होस् भनेर वर्षेनी हजरौँको सङ्ख्यामा बाख्राको पाठी बलि दिने चलन छ ।
करिब एक घण्टा कालिका भगवती मन्दिर परिसरमा बस्नुभएका कालीदास बाबाले हलेसी मन्दिरको समेत दर्शन गर्नुभएको छ । हेलिकोप्टरबाटै त्रिधार्मिकस्थल हलेसी पुग्नुभएका कालीदास बाबालाई हलेसी तुवाचुङ नगरपालिका र हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले बाजागाजासहित स्वागत गरेको थियो ।
हलेसी मन्दिरको प्रमुखद्धारमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कालीदास बाबाले त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सहयोग गर्ने बताउनुभएको छ । दिक्तेलबाट हलेसी पुग्नुभएका कालीदास बाबा हलेसी मन्दिरको दर्शन तथा पूजाअर्चना गरेर शनिबार नै काठमाडौँ फर्कनुभएको छ ।


