खोटाङ, १ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यो महिना जिल्लाका तीन ठाउँमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत–४, ५ र ६ गते बाक्सिला बजार, चैत–९, १० र ११ गते दिक्तेल बजार तथा चैत–१४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसी बजारमा निःशुल्क आँखा शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको हो ।
सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया, आँखासम्बन्धी बिरामीको आँखा जाँच, औषधि तथा चस्मा वितरण लगायतका काम गरिने आयोजक नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । “दश स्थानीय तह रहेको जिल्लामा एक हजार ५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको हाम्रो सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानबाट डा. दिवाकर चौधरीको नेतृत्वमा १४ जनाको प्राविधिक टोली आउँदै हुनुहुन्छ । यही चैत–४ गतेदेखि जिल्लाका विभिन्न तीन ठाउँमा पुगेर सञ्चालन गरिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ ।”
यो पटक सञ्चालन गरिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरमा करिब दुई हजार १०० जना आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ । चैत–४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र वासको समेत व्यवस्था गरिएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिनुभएको छ ।
आवश्यक खर्च तथा अवसरको अभावमा उपचार नपाएर वर्षौँदेखि आँखासम्बन्धी रोगका समस्या भोग्दै आएका बिरामीहरु आफ्नै गाउँ तथा ठाउँमा शल्यक्रियासहितको निःशुल्क आँखा उपचार सेवा शिविर सञ्चालन हुने भएपछि हर्षित भएका छन् । नेत्रज्योति सङ्घले यसअघि जिल्लाका विभिन्न ठाउँमा पुगेर निःशुल्करुपमा सञ्चालन गरेका शिविरहरु प्रभावकारी भएको जिल्लावासीको प्रतिक्रिया छ ।
सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको शिविरका बारेमा आज (शुक्रबार) सरोकारवाला निकाय तथा पत्रकारहरुसँग छलफल गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर शिविर सञ्चालन गर्दै आएको नेत्रज्योति सङ्घले आँखाका जटिल किसिमको बिरामीको मात्रै तीन हजार ६३६ जनाको सफल शल्यक्रिया गरिएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिनुभएको छ ।
वि.सं. २०६० वैशाख–१० गतेबाट जिल्लामा औपचारिकरुपमा सेवा शुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार ५०१ जनाको उपचार गरिसकेको जनाइएको छ । सेवा शुरु गरेयता जिल्लाका तीन हजार ३८ जना जेष्ठ नागरिकलाई रिडिङ ग्लास (पढ्नका लागि लगाइने चस्मा) निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ ।
एकपटक एउटा ठाउँमा पुगेर निःशुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको रु तीन लाख ५० हजारदेखि रु चार लाखसम्म खर्च हुने जनाइएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गर्दै आएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि नेपाल सरकारले एउटा केन्द्रलाई बीउ पुँजीको रुपमा हरेक वर्ष रु पाँच लाख बजेट उपलब्ध गराउँदै आएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिनुभएको छ ।


