खोटाङ, १ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन शुरु गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न शुरु गर्नुभएको हो ।
प्लाष्टिकजन्य वस्तुले शहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकुल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना–टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताउनुभयो । मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा रु पाँच र टपरीको प्रतिगोटा रु ८ का दरले निर्धारण गरिएको जनाइएको छ ।
निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना–टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिनुभएको छ । “सालको पातबाट बनाइने दुना–टपरीको कारण सालको पातसमेत सदुपयोग भएको छ । जङ्गलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा रु ३५ देखि रु ६० सम्ममा खरिद गर्दै आएको छु”, उहाँले भन्नुभयो, “बिना प्रयोग जङ्गलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम शुरु भएको छ । दुना–टपरी गाँस्नेलाई प्रतिगोटा रु एकका दरले दिने गरेको छु । यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ ।”
गाउँमा हुने हरेक विहे–कार्जे, भोज–भतेर तथा पूजापाठमा दुना–टपरी प्रयोग एवम् त्यसमा राखेर खाने परम्परा लोप हुँनै लागेकाले पनि मेसिनमार्फत व्यवसायिकरुपमा दुना–टपरी बनाउन शुरु गरिएको सञ्चालक राईले बताउनुभयो । “गाउँघरमा हुने अधिकांश काजभोजमा प्लाष्टिकको भाँडा प्रयोग हुने थालेका छन् । यो स्वास्थ्यका लागि मात्र नभइ वातावरणीय हिसाबले पनि ठीक होइन”, उहाँले भन्नुभयो, “दुना–टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले पनि मेसिनमार्फत व्यवसायिकरुपमा दुना–टपरी बनाउन शुरु गरेका छौँ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
बाम्राङमा उत्पादित दुना–टपरी गाउँमा हुने पूजापाठ तथा विहेबटुलका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुना–टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ ।
उता, हलेसी तुवाचुङ नगरपालिकाले वडा नं.–३ च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना–टपरी उद्योग सञ्चालन गरेको हो ।
च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा रु पाँच र टपरी प्रतिगोटा रु दशमा बिक्री शुरु गरिएको छ । सहकारी संस्थामा आवद्ध महिलालाई सात दिनको तालिम दिएर दुना–टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।
सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना–टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ । ¬हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना–तपरीमात्र प्रयोग गर्ने÷गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।


