खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महहादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा आज (बिहीबार) साँझ सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि उचालेको हो ।
प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निक्कै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरुद्ध कुनै पनि गोल फर्काउन नसक्दा पाँचौँ संस्करणको उपाधि चुम्नबाट चुकेको हो ।
प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले रु एक लाख ३३ हजार ३३३ तथा उपविजेता केएफएले नगद रु ७१ हजार १११ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका सेमी फाइनलिष्ट दुई टिम आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले जनही रु ३५ हजार ५५५ नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका विद्यागत पुरस्कार अन्तरगत पाँचौँ संस्तकरणको प्रतियोगिताको बेस्ट प्लेयर घोषित हुनुभएका महादेवस्थानका भुवन श्रेष्ठले रु पाँच हजार ५५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । जिल्लाका विभिन्न १२ वटा वडाका खेलाडी सहभागी प्रतियोगितामा महादेवस्थानका श्रेष्ठ बेस्ट प्लेयर घोषित हुनुभएको हो ।
प्रतियोगिताका बेस्ट गोलकिपरमा महादेवस्थानका कुसन राई, बेस्ट डिफेन्डरमा सोल्माका आशिष राई, बेस्ट मिडफिलडरमा केएफएका सोइसन राई, हाइस्कोररमा केएफएकै शैलेन्द्र बजिमय, राईजिङ प्लेयरमा केएफएकै सुलभ भुजेल र बेष्ट कोचमा महादेवस्थानका लोकेन्द्र केसी घोषित हुनुभएको छ । विद्यागत पुरस्कार विजेता खेलाडीलाई जनही रु तीन हजार ३३३ का दरले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता समापनको अवसरमा खेल क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार चिसाङ शेर्पालाई रु पाँच हजार ५५५ नगदसहित ‘खेल पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजयी टिम, खेलाडी तथा पत्रकारलाई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कोशी प्रदेश उपाध्यक्ष समिर राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतले पुरस्कार वितरण गर्नुभएको हो ।
प्रतियोगिताको फाइनल खेल एन्फाको मान्यता प्राप्त खोटाङकै पहिलो महिला रेफ्री शशी राईले सञ्चालन गर्नुभएको थियो । प्रतियोगिता समापन कार्यक्रममा सोल्माका पूर्व निर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सोल्माका २० जना व्यक्तिलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
यही फागुन–२४ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले औपचारिक उद्घाटन गर्नुभएको प्रतियोगिता समापन कार्यक्रममा गायक पदम राई, गायिका बबिना किराँती र गायक धनीराम नछुङले साँगीतिक प्रस्तुति दिनुभएको छ । हिन्दु नेपालीहरुको महान चाड ‘होली पर्व’को अवसर पारेर आयोजित पाँचौँ संस्करणको समापन कार्यक्रममा जिल्लावासीले भरपुर मनोरञ्जन लिएका छन् ।
वि.सं. २०७२ सालमा नगरकप सञ्चालन गरेको सोल्मा स्पोर्टस् क्लबले दोस्रो वर्षदेखि खुला पुरुष अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सञचालन गर्दै आएको छ । प्रत्येक वर्षको प्रतियोगिता शुभेच्छुक तथा सङ्घसंस्थाको सहयोगमा सञ्चालन गर्ने गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माका सचिव श्यामकुमार राईले जानकारी दिनुभयो ।


