हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रु सात करोड ३० लाख बढीको क्षति

Halesi Khabar

खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति शुरु भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भएको हो ।

आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चलित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय लगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुईतले काठको घर गरी रु दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।

साँझ करिब ७ः०० बजेबाट शुरु भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा रु ३० लाख बराबरको क्षति भएको जनाइएको छ । आइराख राई्रको घरसँगै जोडिएको भरणशेर राईको पारुहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी रु ५० लाख बराबरको भएको छ ।

आगलागीमा मानवीय क्षति नभए पनि ठूलोमात्रामा धनसम्पती तथा भौतिक सामग्री जलेर नष्ट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “आगलागी नियन्त्रण गर्न बेलैमा सबैको सहयोग उपलब्ध भयो । रातको समयमा भए पनि मानवीय क्षति हुनबाट जोगाउन सफल भयौँ”, उहाँले भन्नुभयो, “आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ । सङ्कलित राहत एकद्धार प्रणालीमार्फत वितरण गर्ने सर्वपक्षीय निर्णय गरिएको छ ।”

आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीय लगायत गरी करिब ५०० जना खटिएका थिए । स्थानीय पदमशेर राईको ग्यास पसल नजिकै रहेको भान्छा कोठाबाट आइतबार साँझ करिब सात बजेतिर शुरु भएको आगो साढे चार घण्टापछि साढे ११ बजेतिर नियन्त्रणमा आएको थियो ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभएको छ । हिन्दु, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा भएको आगलागीका घटनालाई दमकल अभावका कारण समयमै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो ।

हलेसी बजारमा भएको आगलागी सबैको सहयोगले तत्कालै नियन्त्रणमा लिन सफल भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकामा दमकल छैन । दमकल नहुँदा आगलागी नियन्त्रणमा निक्कै समस्या भयो । तर, उपलब्ध स्रोत र साधन प्रयोग गरेर करिब साढे चार घण्टापछि आगो नियन्त्रणमा लिन सफल भयौँ”, उहाँले भन्नुभयो, “आगलागीमा ठूलो क्षति भएको छ । क्षति भए जति त आगलागी पीडितलाई राहत उपलब्ध गराउन सक्दैनौँ । यद्यपि, गृहमन्त्री, सम्बन्धित मन्त्रालय लगायतसँग समन्वय भइरहेको छ । आगलागी पीडितका लागि चाँडै मलमपट्टी लगाउने प्रयास गरिरहेका छौँ ।”

हलेसीमा भएको आगलागीका घटनाका विषयमा विभिन्न निकायले दुःख व्यक्त गर्दै आगलागी पीडितका लागि तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकार्षण गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दालाल ‘प्रचन्ड’ लगायतले आगलागी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकार्षण गराएका हुन् ।

 

तपाईको प्रतिक्रिया