वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार

Halesi Khabar

खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रम अन्तरगत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराएको हो ।

वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले जानकारी दिनुभएको छ । “खार्मीमा व्यवसायिक मौरी पालनका लागि ८० वटा आधुनिक घार वितरण गर्ने कार्यक्रम छ । पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी छवटा केही दिनभित्रै उपलब्ध गराउँछौँ । मौरीको घार प्राप्त गर्ने कृषकलाई व्यवसायिक मौरी पालन सम्बन्धी प्रशिक्षणसमेत दिइएको छ ।”

व्यवसायिक मौरी पालनका लागि डिभिजन वन कार्यालयले उपलब्ध गराएको मौरीको आधुनिक घार निःशुल्क पाएपछि खार्मीका स्थानीय कृषकहरु उत्साहित भएका छन् । मौरीको खाली घार प्रतिगोटा रु पाँच हजार २०० का दरले खरिद गरेर खार्मीका स्थानीय उपभोक्तालाई दुई÷दुईवटा घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालय खोटाङका वन रक्षक विनोद गजमेरले जानकारी दिनुभयो ।

भौरीको घार निःशुल्क प्राप्त गर्ने कृषकलाई डिभिजन वन कार्यालयले झिकाएको मौरी पालक कृषक छविलाल मगरले व्यवसायिक मौरी पालनसम्बन्धी एकदिने प्रशिक्षणसमेत दिनुभएको जनाइएको छ । डिभिजन वन कार्यालय खोटाङले उपलब्ध गराएको मौरीको घार खार्मीका वडाध्यक्ष ईखबहादुर राईको उपस्थितिमा वन उपभोक्ता समिति खार्मीका अध्यक्ष हर्कराज राईले कृषकहरुलाई वितरण गर्नुभएको हो ।

व्यवसायिक मौरी पालनसम्बन्धी विनियोजित रु पाँच लाख ६३ हजार बजेटबाट खरिद गरिएको ७४ वटा घारमध्ये चारवटामा परीक्षणका लागि स्थानीय सेरेना जातको मौरीसमेत उपलब्ध सव डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत कुमारप्रसाद फुयालले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले उपलब्ध गराएको मौरीको आधुनिक घारमा स्थानीय सेरेना जातको मौरी राखेर व्यवसायिकरुपमा पालन गर्न सकिने प्रशिक्षक मगरले बताउनुभएको छ ।

डिभिजन वन कार्यालय खोटाङले यसअघि वडा नं. १२ जालपामा गठित मधुश्री मौरी पालन तथा विषादिरहित फलफूल उत्पादक कृषक समूहमा आवद्ध १७ घर स्थानीय उपभोक्तालाई एक÷एक घार मौरीसहितको तथा चार÷चारवटा खाली घार उपलब्ध गराएको थियो । जालपामा उपलब्ध गराइएको घारमा पालिएका मौरीले अहिले राम्रो उत्पादन दिइरहेको कृषकहरुले बताएका छन् ।

डिसिआरएलसँगको सहकार्यमा यस वर्ष वनमा आधारित उद्यम प्रवद्र्धन कार्यक्रमअन्तरगत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादन सम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । तीनवटै शीर्षक (मौरी पालन, अल्लो कपडा तथा सुगन्धित तेल उत्पादन)का योजनाका लागि प्रति योजना रु पाँच लाख ६३ हजारका दरले उपभोक्तालाई बजेट उपलब्ध गराएको जनाइएको छ ।

डिभिजन वन कार्यालयले डिसिआरएलसँगकै सहकार्यमा यस वर्ष जिल्लाका विभिन्न दशवटा सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गरेको छ । डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी रु. दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि रु. दुई लाख ३५ हजार बजेट उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया