वडासचिवमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न तीन कर्मचारी सङ्गठनको माग

Halesi Khabar

खोटाङ, २ फागुन । दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका–१५ विजयखर्कका वडासचिव होमनाथ ढकालमाथि कार्यालय समयमा कार्यकक्षभित्रै कुटपिट गर्ने समूहलाई तत्काल कानूनी कारबाही गर्न खोटाङका तीन कर्मचारी सङ्गठनले माग गरेको छ । गत माघ–२८ गते विजयखर्कस्थित वडा कार्यालयमा काम गरिरहनुभएका ढकालमाथि कुटपिट गर्नमा संलग्न वडासदस्य युवबहादुर कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थायी समिति सदस्य राजकुमार ढकाल लगायतलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती र एकीकृत सरकारी कर्मचारी सङ्गठन खोटाङले आज (शुक्रबार) संयुक्त विज्ञप्तिमार्फत माग गरेको हो ।

“स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि गुण्डागर्दी शैलिमा कुटपिट हुनुका साथै सार्वजनिक सम्पत्तिमाथि तोडफोड हुनु कानूनी राज्यको उपहास भएको हाम्रो ठम्याइ छ”, विज्ञप्तिमा भनिएको छ, “यसप्रकारका घटनाले कर्मचारीको मनोबल घट्न गइ सेवाप्रवाह प्रभावित हुन्छ । घटनाको सत्य, तथ्य छानबिनगरी आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानूनी कठघरामा उभ्याएर कारबाही गर्न विज्ञप्तिमार्फत जोडदार माग गर्दछौँ ।”

सम्बन्धित निकायलयले आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल पक्राउगरी कानूनी कारबाही नगरेको खण्डमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने तीन कर्मचारी सङ्गठनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । संयुक्त विज्ञप्तिमा नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष शम्भु तामाङ, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती खोटाङका अध्यक्ष चित्रकुमार सुवेदी र एकीकृत सरकारी कर्मचारी सङ्गठन खोटाङका अध्यक्ष सोमप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

कर्मचारी सङ्गठनले जारी गरेको विज्ञप्ति जिल्ला प्रशासन कार्यालय खोटाङलाई बोधार्थका रुपमा उपलब्ध गराइएको छ । उता, नगरपालिकाभित्र कार्यरत १५ वटै वडाका वडासचिवहरुले समेत घटनामा संलग्न दोषीमाथि कानूनी कारबाहीको माग गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

आफूमाथि बिना कारण कुटपिट गर्नमा संलग्न वडासदस्य युवबहादुर कार्की तथा स्थानीयवासीहरु बरुण ढकाल, राजकुमार ढकाल, नरेन्द्र ढकाल, गणेशबहादुर कार्की र खड्गबहादुर कटवाल अभद्र व्यवहार अन्तरगतको मुद्धामा किटानी जाहेरी दिएको पीडित वडासचिव ढकालले बताउनुभयो । “ममाथि माघ–२८ गते कुटपिट भयो । मैले माघ–२९ गते अभद्र व्यवहार अन्तरगत मुद्धा चलाउन प्रहरीमा किटानी जाहेरी दिएको थिएँ । अहिलेसम्म प्रहरीले दर्ता गरेको छैन”, उहाँले भन्नुभयो, “प्रहरीले मुद्धा दर्ता नगरेपछि माघ–३० गते जिल्ला प्रशासन कार्यालय खोटाङमा पनि किटानी जाहेरी दिएको छु । जिल्ला प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र लेखेको छ । पशासनले लेखेको पत्र चाँही दर्ता भएको छ ।”

विजयखर्कमा भएको घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । “प्रहरीमा दुवै पक्षबाट जाहेरी आएको छ । घटना के भएको हो भन्ने विषयमा अनुसन्धान शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “घटनाको विषयमा दुवै पक्षसँग बसेर छलफल गर्छौँ । यदि नमिलेको खण्डमा कानूनबमोजिम अगाडि बढ्छौँ ।”

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत कर्मचारीहरुले समेत संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय खोटाङलाई बोधार्थ राखिएको छ ।

सडक निर्माणको विषयमा विवाद हुँदा सामान्य भनाभनमात्र भएको वडासचिवमाथि कुटपिटमा संलग्न भएको भनिएका स्थानीय नरेन्द्र ढकालले बताउनुभएको छ । विजयखर्कको ढुङ्गेचौतारादेखि सरोज राईको घरसम्म जाने सडक निर्माणको विषयमा विवाद हुँदा घटना भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया