खोटाङ, १ फागुन । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले जनयुद्ध कुनै समूह विशेषको स्वार्थमा गरिएको आन्दोलन नभइ देश र जनताको मुक्तिका लागि गरिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको ‘३० औँ जनयुद्ध दिवस–२०८१’लाई सम्बोधन गर्नुहुँदै नेपाल सरकारका एवम् पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले जनयुद्ध नेपाली जनताको आन्दोलन भएको जिकिर गर्नुभयो ।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पुनले माओवादीले सञ्चालन गरेको जनयुद्धबाट प्राप्त उपलब्धीहरु ५० औँ वर्षसम्म रहिरहने दाबी गर्नुभएको छ । “जनयुद्धलाई इतिहासले स्वीकार गरिसकेको छ । जनयुद्धबाट शुरु भएको जनआन्दोलन इतिहास हो”, उहाँले भन्नुभयो, “जनयुद्धकै जगमा भएको जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भएको छ । हामीले उठाउँदै आएको समानताको मुद्धा संविधानमा नै लिपिबद्ध गरेका छौँ ।”
जनयुद्धका शहीद परिवार, योद्धाहरुको सम्मान तथा पुर्नमिलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पुनले नेपालमा जनवादी क्रान्ति सकिएको बताउनुभएको छ । “नेपालमा जनवादी क्रान्तिको चरण सम्पन्न ग¥र्यौँ । अब समाजवादी क्रान्ति आवश्यक छ । हामीले गर्ने भनिएको समाजवादी क्रान्ति शान्तिपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “समाजवादी क्रान्तिमार्फत देशलाई निकास दिने योजना माओवादी केन्द्रसँग मात्रै छ । यसमा जनताले पनि साथ दिनेछन् । समाजवादी क्रान्ति सफल हुन्छ ।”
विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई स्वागतसमेत गर्नुभएका नेता पुनले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको बताउनुभयो । “हरेक ठाउँमा भएका कार्यक्रमहरुमा विभिन्न पार्टी परित्यागगरी माओवादी केन्द्र प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको लहर चलेको छ । यो स्वागतयोग्य विषय हो”, उहाँले भन्नुभयो, “जनताको अपेक्षा पूरा गर्नका लागि पार्टी केन्द्रीय समितिबाटै ‘छ महिना जनतासँग कार्यक्रम’ शुरुवात गरेका छौँ । यो अभियानमा हजारौँ नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा गोलबद्ध हुनुहुनेछ ।”
नेता पुनले विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिहरुबीच चाँडै एकता हुनेसमेत बताउनुभयो । “नेत्रबिmक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकताको पहल भइरहेको छ । यो चाँडै टुङ्गिनेवाला छ”, उहाँले भन्नुभयो, “आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेगरी तयारीमा जुटेको छ । त्यसपछि माओवादी केन्द्र देशको सबैभन्दा ठूलो शक्ति बन्छ । भर्खरै सम्पन्न उपनिर्वाचनले पनि त्यो सङ्केत गरिसकेको छ ।”
नेता पुनले माओवादी केन्द्र सरकारमा हुँदा सुशासनको मुद्धा उठाए कार्यान्वयन गर्न शुरु गरिए पनि सम्पन्न हुन नपाएको बताउनुभयो । “हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचारको फायल खोल्न थालेको थियो । त्यो सरकारमा म आफै अर्थमन्त्री थिएँ । भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाहीको दायरमा ल्याउन थालेका थियौँ”, उहाँले भन्नुभयो, “काँग्रेस र एमालेका नेताहरु पर्न थालेपछि सरकारबाट हटाइयो । तर, सरकार बाहिर रहेर पनि सुशासनको मुद्धा उठाइरहन्छौँ । यो देशमा भ्रष्टचारीलाई कारबाही नगरेसम्म विकास सम्भव छैन ।”
नेता पुनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्र उकुसमुकुस रहेको बताउनुभयो । “एमाले कसरी सरकार टिकाउने भन्नेमा केन्द्रित छ । उसको ध्यान भ्रष्टचारीलाई संरक्षण गर्नमा मात्रै केन्द्रित छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकारबाट जनताले केही प्राप्त गर्नेवाला छैन । नेपाली काँग्रेस र एमाले यथास्थितितर्फ फर्किन प्रयत्नमा छ ।”
राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा)तर्फ केन्द्रित गर्दै नेता पुनले नयाँ दलबाट पनि परिवर्तन सम्भव नभएको बताउनुभयो । “नयाँ भनिएका राजनीतिक दलसँग दर्शन, सिद्धान्त र कार्यनीति केही छैन । प्रचारको भरमा उदाएको छ”, उहाँले भन्नुभयो, “यो दल विस्तारै हराउँदै जान्छ । अन्तिममा माओवादी केन्द्रले मात्र देशमा निकास दिन्छ ।”
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रदेश सदस्य टंक थापा, प्रदेश सदस्य एवम् खोटेहाङ गाउँपालिका पार्टी सहइन्चार्ज इन्द्र नाराथुङ्गे लगायतले सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्ने नेताहरुले जनयुद्धका उपलब्धी रक्षा तथा कार्यान्वयनमा सबै पक्षलेले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा शहीद, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्ता, पोष्ट घरका घरमुली लगायतलाई सम्मान गरिएको छ । औपचारिक कार्यक्रम शुरु गर्नुपूर्व दिक्तेल बजारमा ¥यालीसहित सर्वसाधारणलाई लड्डु बाँडेर जनयुद्धको खुसीयाली मनाउनुका साथै साँझ पार्टी कार्यालयमा दीपावली गरिएको छ ।




