खोटाङ, १ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिं बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
नेपाली काँग्रेस खोटाङका जिल्ला सचिवसमेत रहनुभएका जोशीले ८१ मत ल्याएर रेडक्रस सभापतिमा विजयी हुँदा बस्नेतले जम्मा ४० मतमात्र प्राप्त गर्नुभएको छ । दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएका जोशीले अघिल्लो अर्थात् ११ औँ जिल्ला अधिवेशनमा बस्नेतलाई १२ मतले पराजित गर्नुभएको थियो ।
रेडक्रस खोटाङको १२ औँ जिल्ला अधिवेशन अन्तरगत माघ–३० गते साँझ भएको निर्वाचनमा महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी हुनुभएको छ । आचार्यले ७० मत तथा बस्नेतले ४५ ल्याएर महिला र खुला उपसभापतिमा विजयी हुनुभएको हो ।
आचार्य सभापतिका उम्मेदवार बस्नेत प्यानेल (समूह)का हुनुहुन्छ भने, बस्नेत नवनिर्वाचित सभापति जोशी प्यानेलको उम्मेदवार हुनुहुन्छ । जोशी प्यानेलका महिला उपसभापतिका उम्मेदवार रत्नमायाँ बुढाथोकीले ४३ तथा बस्नेत प्यानेलका खुला उपसभापतिका उम्मेदवार भीमबहादुर सैँजूले ३२ मतमात्र प्राप्त गर्नुभएको छ ।
सात पदाधिकारी तथा दशजना सदस्यका लागि भएको निर्वाचन अन्तरगत मन्त्रीमा जोशी प्यानेलकै छत्रकुमार बजिमय विजयी हुनुभएको छ । बजिमयले ८७ मत ल्याएर मन्त्री पदमा विजयी हुँदा अर्का मनत्री पदका उम्मेदवार कृष्णप्रसाद आचार्यले २९ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जनाएको छ ।
दुई वर्षे कार्यकालका लागि चयन गरिएको रेडक्रस खोटाङको कोषाध्यक्षमा जोशी प्यानेलकै लीलाबहादुर खत्री विजयी हुनुभएको छ । खत्रीले ६६ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका नवराज केसीले ४६ मतमात्र प्राप्त गर्नुभएको जनाइएको छ ।
उपमन्त्रीमा जोशी प्यानेलकै कृष्णप्रसाद अधिकारी झिनो मतले विजयी हुनुभएको छ । अधिकारीले ५५ मत ल्याएर उपमन्त्रीमा विजयी हुँदा बस्नेत प्यानेलका शिवकुमार बस्नेतले ५३ मत प्राप्त गर्नुभएको छ ।
जिल्लाभरका १३८ मतदातामध्ये १२६ जना मतदाता सहभागी निर्वाचनमा शाखाको उपकोषाध्यक्ष पदमा जोशी प्यानेलकै अशोक आचार्य १९ मतको फरकले विजयी हुनुभएको छ । आचार्यले ६३ मत ल्याएर उपकोषाध्यक्षमा विजयी हुँदा बस्नेत प्यानेलका छत्रबहादुर केसीले ४४ मत प्राप्त गर्नुभएको जनाइएको छ ।
तीनजना महिला सदस्यमा जोशी प्यानेलकै इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी हुनुभएको छ । बस्नेतले ८१, रिजालले ७८ र दाहालले ७५ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका रुपा विश्वकर्माले ४७ मत प्राप्त गर्नुभएको छ ।
सातजना खुला सदस्यका लागि १४ जना उम्मेवारबीच भएको निर्वाचनमा बस्नेत प्यानेलका अर्जुनकुमार राउत बाहेक अन्य छजना जोशी प्यानेलका उम्मेदवार विजयी भएका छन् । बस्नेत प्यानेलका राउतले ६६ मत ल्याएर सदस्यमा निर्वाचित हुनुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाण्डेशनमा गएराति सम्पन्न निर्वाचनमा जोशी प्यानेलका गोपाल राईले सबैभन्दा बढी ६७, पुस्विन खत्री र किशोर श्रेष्ठ ६०÷६०, रामचन्द्र केसीले ५८, कर्णबहादुर बस्नेतले ५७ र यामबहादुर निरौलाले ५१ मत ल्याएर सदस्य विजयी हुनुभएको छ । सभापतिमा पराजित बस्नेतलाई काँग्रेसकै एउटा समूह तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन थियो ।