वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Halesi Khabar

खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट कुनै पनि हालतमा पारित नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई आज (सोमबार) दिक्तेल बजारमा सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले अध्यादेशको विषयमा सत्ता पक्षकै नेताहरु असहत रहेको बताउनुभयो ।

नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचन भएको समयमा चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा नभएको प्रस्टसमेत पार्नुभयो । “माओवादी केन्द्र जनताको पार्टी हो । जनताको हक, अधिकार र सुविधाका लागि सरकार, सदन र सडकमा लडिरहन्छ”, उहाँले भन्नुभयो, “माओवादी केन्द्रले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक रुपान्तरणका लागि लडिरहन्छ ।”

नेता श्रेष्ठले माओवादी केन्द्रको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रुपान्तरणमा केन्द्रित रहेको बताउनुभयो । “नेपालमा गणतन्त्र स्थापना गर्ने सपना अन्य दलका नेताहरुले देखेका पनि थिएनन् । उनीहरुलाई यो संविधान र प्राप्त उपलब्धीको कुनै मायाँ छैन”, उहाँले भन्नुभयो, “केही नेताहरु त सङ्घीयता खारेज हुनुपर्छ भनेर बोल्दै हिँड्न थालेका छन् । माओवादी केन्द्रको ठूलो त्याग र बलिदानीले अहिलेको उपलब्धीहरु प्राप्त भएको हो । यसको रक्षा गर्न सबैले खबरदारी गर्नुपर्ने अवस्था आएको छ ।”

माओवादी केन्द्र सरकारमा हुँदा देशमा सुशासन कायम गर्ने अभियान थालेको नेता श्रेष्ठले दाबी गर्नुभएको छ । “हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले देशमा सुशासन कायम गर्न अभियान थालेको थियो । त्यो सरकारमा म उपप्रधान तथा गृहमन्त्री हुँदा धेरै राम्रा कामहरु शुरु गरेका छौँ“, उहाँले भन्नुभयो, “हामीले गरेको कामले संसारभर प्रशंसा पाइरहेको छ । पूरा कार्यकाल काम गर्न नपाए पनि अहिले शीर ठाडो गरेर हिँड्ने वातावरण सिर्जना भएको छ ।”

दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले अहिलेको सरकार भ्रष्टचारीको संरक्षक बनेको दाबी गर्नुभएको छ । “जब हामीले भ्रष्टाचारका फायलहरु खोल्न थाल्यौँ । आफ्नो, अर्काको नभनी ठूला नेता तथा कर्मचारीहरुलाई कारबाहीको प्रक्रिया शुरु ग¥यौँ । तब ठूला भनिएका दलहरु अतालिए । अनि हाम्रो नेतृत्वमा अगाडि बढिरहेको सरकार ढालियो”, उहाँले भन्नुभयो, “अहिले ती कामहरु थाँती राखेर आफ्ना नेताहरु जोगाउन वर्तमान सरकार लागिपरेका छन् । उनीहरु सुशासन कायम गर्न नभइ भ्रष्टाचार गर्न सरकारमा गएका हुन् ।”

नेता श्रेष्ठले अबको निर्वाचनमा माओवादी केन्द्र देशको सबैभन्दा ठूलो राजनीतिक दल बन्ने बताउनुभएको छ । “हामीले पार्टी सुदृढिकर अभियानका साथै खबरदारीसभाहरु शुरु गरेका छौँ । देशभर विभिन्न पार्टी परित्यागगरी माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ । माओवादी केन्द्रका नेता तथा कार्यकर्तामा उत्साह बढेको छ”, उहाँले भन्नुभयो, “विचार, सिद्धान्त, नीति तथा योजनासहित पार्टी अगाडि बढेको छ । देश र जनताको मुक्ति यसै पार्टी (माओवादी केन्द्र)बाट मात्र सम्भव छ । जनताको इच्छा, चाहना र उत्साहलाई साकार पार्न नेता तथा कार्यकर्ताहरु सक्रिय हुन जरुरी छ ।”

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकी ‘धिरेन’ लगायतले सम्बोधन गर्नुभएको थियो । खबरदारीसभा समेत भनिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका जिल्ला सदस्य हर्कराज राई, निर्वाचित वडा सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पार्टी अध्यक्ष वीरेन्द्र राई लगायत विभिन्न पार्टी परित्याग गरेका दर्जनबढी नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया