मृतक परिवारले लेखेको सुसाइट नोटअनुसार आफन्तले प्रहरी सहायक निरीक्षक कार्कीलाई कारबाहीको मागसमेत गरेका छन् । मृतक परियारलाई अर्खौले प्रहरी चौकीमा केही समय हतकडी लगाएर प्रहरीले छाडेकाले अपमानित महसुस गरेर हात्महत्या गरेको भन्दै दोषी प्रहरी सहायक निरीक्षक कार्कीलाई कानूनी कारबाही हुनुपर्ने उनीहरुले माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार जबरजस्ती करणीको किटानी जाहेरी परेको भन्दै अर्खौले प्रहरी चौकीले मृतक परियारलाई हतकडी लगाएको थियो । केही समयपछि अर्को व्यक्तिको नाममा जाहेरी परेको भन्दै मृतक परिवारको हातबाट हतकडी निकालेर सोही गाउँका अर्का एक किशोरलाई प्रहरीले हतकडी लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । गत वैशाख–१० गते आफूमाथि जबरजस्ती करणी भएको भन्दै २६ वर्षीया एक महिलाले जिल्ला प्रहरी कार्यालय खोटाङमा माघ–२४ गते बिहीबार किटानी जाहेरी दिएकी थिइन् । जाहेरीमा अर्खौलेका एक किशोरको नाम उल्लेख छ । जबरजस्ती करणी गर्ने उक्त किशोरसँगै उनको साथीहरु पनि रहेको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक विष्टले बताउनुभयो । जाहेरीमा नाम उल्लेख १७ वर्षका परिवर्तित नाम ४१ का किशोरलाई बिहीबारनै प्रहरीले पक्राउ गरेर ल्याएको छ । शुरुमा प्रहरीले हतकडी लगाएका १९ वर्षका परियार भने आज (शुक्रबार) मृत भेटिएको अर्खौलेका वडा सदस्य किशोर श्रेष्ठले बताउनुभयो । “आफू निर्दोष हुँदाहुँदै हतकडी लगाएर अर्खोले प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक पोषराज कार्कीले आफूलाई अपमान गरेकाले समाजमा मुख देखाउन लायक नभएको भन्दै उनले सुसाइट नोट लेखेको भेटिएको छ । प्रहरी कै लापरबाहीले उनको ज्यान गएको देखिएको छ”, उहाँले भन्नुभयो, “दोषीमाथि कडा कारबाही हुनुपर्छ । दोषीमाथि कारबाही गर्ने सर्तमै मृतक परियारको शव घटनास्थलबाट उठाएका हौँ । प्रहरी सहायक निरीक्षक कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अन्तरगतको कसूरमा जाहेरी गर्दा गरेका छौँ ।” अर्खोलेमा भएको घटनाको विषयमा प्रहरी सहायक निरीक्षक कार्कीलाई जिल्ला झिकाएर अनुसन्धन शुरु गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती करणी आरोपमा पक्राउ परेका किशोरलाई समेत जिल्ला प्रहरी कार्यालय खोटाङको बाल निगरानी कक्षमा राखेर अनुसन्धान शुरु प्रनाउ कार्कीले जानकारी दिनुभयो ।
खोटाङ, २५ माघ । आफू निर्दोष भएपनि प्रहरीले बिना कारण जबरजस्ती पक्राउ गरेर हतकडी लगाएको भन्दै सुसाइट नोट लेखेका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियार मृत फेला परेका छन् । प्रहरी चौकी अर्खौलेका प्रमुख प्रहरी सहायक निरीक्षक पोषराज कार्कीले आफूलाई अपमानित गरेको भन्दै सुसाइट नोट लेखेका परियार आज (शुक्रबार) घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


