भँडारेखोला सुमो दुर्घटनाका तीनैजना मृतकको शव परीक्षणका लागि दिक्तेल ल्याइयो

Halesi Khabar

खोटाङ, १८ माघ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तल–काठमाडौँ सडकखण्डको ओखलढुङ्गास्थित भँडारेखोलामा भएको सुमो दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको शव परीक्षणका लागि दिक्तेल ल्याइएको छ । ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटनाका मृतकहरु केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायाँ गुरुङ, उहाँका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाँकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको शव परीक्षणका लागि आज (शुक्रबार) जिल्ला अस्पताल दिक्तेल ल्याइएको हो ।

जलनका बिरामी लिएर बुधबार साँझ दिक्तेलबाट काठमाडौँ हिँडेको पूर्व खोटाङ यातायात प्रा.लि.को सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टेकसेलेस्थित भँडारेखोलामा दुर्घटना हुँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । सडकबाट करिब १०० मिटर तल झरेर भएको दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको शव परीक्षणका लागि आज (शुक्रबार) दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिनुभएको छ ।

दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौँ हिँडेको सुमो सोही राति भँडारेखोलामा दुर्घटना भएको हुनसक्ने स्थानीयबासीले जनाएका छन् । भँडारेखोलामा भएको दुर्घनाका मृतकको शव तीन दिनपछि घटनास्थलबाट उठाएर परीक्षणका लागि शुक्रबार बिहान दिक्तेल ल्याइएको हो ।

दिक्तेलस्थित जिल्ला अस्पतालको शव परीक्षण गृहमा राखिएको मृतकको शव परिवार र यातायात व्यवसायीबीच सहमति भएपछि आफन्तको जिम्मा लगाउने तयारी गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । तीनजनाको ज्यान जानेगरी सुमो दुर्घटना हुनुको कारण अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएलगत्तै फरार बनेका सुमो चालक सुनसरी जिल्लाको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित आज (शुक्रबार) भक्तपुरबाट पक्राउ परेका छन् । हात, अनुहार र छातीमा चोट लागेको अवस्थामा भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका चालक पण्डितलाई प्ररीले पक्राउ गरेको हो ।

बास्पानीस्थित आफन्तको मृत्यु कार्य (सुद्याइ)मा आउने निम्तालुलाई सगुन दिनका लागि रक्सी ठानेर तताउनेक्रममा पेट्रोल परेपछि सल्किएको आगोले जलेर गम्भीर घाइते पर्नुभएकी मायाँलाई उपचारको लागि छोरा पुजन र बहिनी ताराले रिजर्भ गरिएको सुमोमा काठमाडौँ लिएर हिँडेका थिए । आगलागीमा कम्मरमुनिको भाग जलेर गम्भीर घाइते बन्नुभएकी मायाँलाई आफन्तले बास्पानीबाट उद्धारगरी गाडीमा जिल्ला अस्पताल खोटाङमा ल्याएर साँझ पाँच बजे भर्ना गरेका थिए ।

जलन सम्बन्धीका किरामीका लागि जिल्लामा अस्पताल खोटाङमा उपचारको व्यवस्था नभएकाले प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौँ रिफर गरिएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले जानकारी दिनुभयो । अस्पतालले रिफर गरेलगत्तै बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स खोज्दा नपाएपछि सुमो रिजर्भ गरेर लगिएको बुझिएको छ ।

सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उपचारमा पठाइएको बिरामीसहित एउटै घरका परिवारको सुमो दुर्घटनामा मृत्यु भएपछि गुरुङ परिवार स्तब्ध भएका छन् ।

तपाईको प्रतिक्रिया