खोटाङ, १६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको खुला बाँसुरी बादन प्रतियोगिताको उपाधि कैलाश राई जित्नुभएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा आज (बुधबार) साँझ सम्पन्न प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका राईले १३ जना प्रतिस्पर्धीलाई हराउँदै उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोस्रो, सिन्धुपाल्चोक मेलम्चीका सँगीत लामा तेस्रो तथा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो हुनुभएको छ । विजयी प्रतियोगीहरुले क्रमशः नगद रु दश हजार, रु सात हजार, रु पाँच हजार र रुतीन हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
वरिष्ठ बाँसुरी बादक नगेन्द्र बिक्रम राई, गायक तथा सँगीतकारहरु भलाकाजी राई र नवीन राई ‘सङ्घर्ष’ बाँसुरी बादन प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो । जिल्ला तथा जिल्ला बाहिरका गरी १४ जनाले बाँसुरी बादन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा उद्घाटन कार्यक्रममा वरिष्ठ बाँसुरी बादक नगेन्द्र बिक्रम राईले बाँसुरी बजाएर सोलो प्रस्तुति दिनुभएको थियो । बाँसुरी बादन प्रतियोगिताकै अवसरमा विद्यालयस्तरीय गायन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
गायन प्रतियोगितामा जालपा मावि जालपा प्रथम, ज्योति मावि जालपा दोस्रो, सरस्वती मावि दिक्तेल तेस्रो र दिक्तेल अङ्ग्रेजी आवासीय विद्यालय चौथो भएको आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभयो । गायन प्रतियोगितामा विजयी विद्यालयहरुले क्रमशः नगद रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यालयस्तरीय गायन प्रतियोगितामा जिल्लाका नौँवटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगितामा सहभागी जालपा मावि नुनथलाले नगद रु तीन हजार र जगदम्बा मावि बुइपाले रु दुई हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा जगदम्बा मावि बुइपाका शिक्षक राजनकुमार बास्तोलाको रचना उत्कृष्ट भएको छ भने, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अनिलकुमार राईको सँगीत उत्कृष्ट भएको जनाइएको छ । उत्कृष्ट रचनाकार र सँगीतकार दुवै जनाले नगद रु पाँच÷पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
विद्यालयस्तरीय गायन प्रतियोगितामा केशव कार्की, नरेन्द्र निर्विकार, नवीन राई ‘सङ्घर्ष’, नगेन्द्र बिक्रम राई र भलाकाजी राईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगिताका विजयी बाँसुरी बादक तथा विद्यालयहरुलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गर्नुभएको छ ।
बाँसुरी बादन तथा विद्यालयस्तरीय गायन प्रतियोगिताको माध्यमबाट बाँसको उपयोगिताका बारेमा स्थानीयवासीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । नगरपालिकाले आगामी फागुन–१५ गतेदेखि १७ गतेसम्म दिक्तेलमा गर्न लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्वसन्ध्यामा बाँसुरी बादन तथा विद्यालयस्तरीय गायन प्रतियोगिता आयोजना गरेको हो ।
नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गर्न लागिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने राष्ट्रिय बाँस सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहनेछ । यसका लागि नेपाल सरकार वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक दिक्तेलमा आयोजना गर्न लागिएको राष्ट्रिय बाँस सम्मेलनका लागि तयारीस्वरुप समितिका संयोजक पूर्वमन्त्री साहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थासँग समन्वय गरिरहनुभएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा बाँस सम्बन्धी अध्ययन गर्ने तथा व्यापार÷व्यवसाय सञ्चालन गरिरहेका विभिन्न देशका नागरिकको समेत सहभागिता रहनेछ ।”
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको बाँस सम्मेलनमा उपयोगविहीन बाँसको संरक्षण, व्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता विकास गरी पर्यावरण संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्दै समृद्ध नगरपालिका र राष्ट्र बनाउने उद्देश्य राखिएको छ । बाँसको उपयोगिता तथा सम्भावनाका बारेमा नेपाल सरकारको ध्यान आकृष्ट गराउन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई एक÷एक थान बाँसका कुर्सी उपहार दिनेसमेत तयारी गरिएको छ ।