खोटाङ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले जनताका अधिकार कटौती नहुनेगरी संविधान संशोधन हुने बताउनुभएको छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र लोकतन्त्रालाई खतरामा पार्नेगरी संविधान संशोधन गर्न लागेको भन्दै केही समूहले कुप्रचार गरिरहेको आरोप लगाउनुहुँदै उहाँले अब गरिने संविधान संशोधनमा जनताको कुनै पनि अधिकार कटौती नहुने जिकिर गर्नुभयो ।
नेकपा एमाले संसदीय दलको तत्कालीन प्रमुख सचेतकसमेत रहनुभएका नेता भट्टराईले साना दलहरुलाई नियन्त्रण गर्नेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “को रिसाउँछ भनेर मूलुकको भविष्य बन्दैन । जनताले जसलाई बढी अधिकारी दिएको छ, उसैले सरकारको नेतृत्व गर्ने हो”, उहाँले भन्नुभयो, “अहिले दुई÷चार सिट सांसद पाएका दलहरुले पनि प्रधानमन्त्री तथा मन्त्रीको लागि बार्गेनिङ गर्ने प्रचलन बढेको छ । अब त्यस्तो हुन नदिन साना दललाई नियन्त्रण गर्नुपर्ने अवस्था आएको छ ।”
प्रेस चौतारी नेपाल खोटाङको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संविधासभा सदस्यसमेत रहनुभएका नेता भट्टराईले वर्तमान नेपाली समाजमा अराजकताको भीडले सिमा नाघ्न लागेको बताउनुभयो । “लोकतन्त्र भनेको छाडातन्त्र होइन । लोकतन्त्रमा जसले जे पायो त्यही बोल्ने अधिकार कसैलाई पनि छैन । वर्तमान नेपाली समाजमा नकारात्मकताको खेती गर्नेहरुको जमात बढेको छ”, उहाँले भन्नुभयो, “अराजकता मच्याउने धेरैजसोको प्रोफायलसमेत लक हुन्छ । यसलाई बेलैमा नियमन गर्न आवश्यक छ । यसप्रति सरकारको ध्यान जान जरुरी छ ।”
एमाले खोटाङको जिल्ला ईन्चार्जसमेत रहनुभएका नेता भट्टराईले पत्रकारहरुले सत्य, तत्थ्य र निष्पक्ष भएर कमल चलाउनुपर्ने बताउनुभयो । “पैसाले समाचारको प्रथमिकता पाउनु हुँदैन । प्रेस चौतारीका साथीहरुले आफ्नै पार्टीका एमालेका नेताहरुको गलत क्रियाकलापलाई समेत बाहिर ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “कसैको प्रभाव, दबाब र आश्वसनमा परेर पत्रकारिता गर्नुहुँदैन । यसले पत्रकारितामाथिको विश्वसनीयता घट्छ । समाजले सही सूचना पाउँदैन । त्यस प्रति सजग हुन आवश्यक छ ।”
सम्बोधन कै क्रममा अर्को प्रशङ्गलाई प्रस्ट्याउनुहुँदै नेता भट्टराईले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा बाढीले बगाएको पुलले नेपाललाई पाठ सिकाएको बताउनुभयो । “फोक्सिङटारमा आर्क डिजाइनको पुल निर्माण गरिएको थियो । त्यो प्राविधिक कारणले भत्किएको होइन । धेरै मान्छेहरुले प्राविधिक त्रुटिका कारण बाढीले बगाएको भनेका छन्”, उहाँले भन्नुभयो, “धेरैले त्यसमा मेरो नाम पनि जोडेका छन् । मेरो नाम जोड्नेहरुलाई पुष्टि गर्न चुनौति दिन्छु । वास्तविक घटना भनेको आर्क डिजाइनको पुल नेपालमा सम्भव नहुने रहेछ । फोक्सिङटारबाट नेपाल सरकारले पाठ सिक्नुपर्ने हुन्छ । अब बन्ने पुलहरु त्यो डिजाइन सम्भव छैन ।”
नेता भट्टराईले नेपाली जनताहरुलाई नेपालमा केही हुँदैन भनेर निराशा नहुन पनि आग्रह गर्नुभएको छ । खोटाङमा मात्रै २५ वटा मोटरेबल पक्की पुल बनेर सञ्चालनमा आएको र उत्तिकै सङ्ख्यामा निर्माणाधीन रहेको जानकारी दिनुभयो


