खोटाङ, १३ माघ । हलेसी तुवाचुङ नगरपालिकाले गत असोज–१२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानको खेतबारीमा थुपारेको गेगर पन्छाउने काम शुरु गरेको छ । पाकेर थन्क्याउने समयको अन्नबाली नष्ट गर्दै किसानको खेतबारीमा बाढीले थुपारेको बालुवा, गिटी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले जेसिबी प्रयोग गरेर पन्छाउन शुरु गरेको हो ।
सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. २ डिकुवा, वडा नं. ८ धितुङ र वडा नं. ११ राजापानीका करिब १५० घरधुरी स्थानीय किसानको करिब २५० रोपनीभन्दा बढी खेतबारी खण्डहर बनाएको छ । धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् ।
भीषण बाढीका कारण पूर्ण क्षति बेहोरेका राजापानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले रु सात हजारको दरले राहत प्रदान गरेको थियो । आंशिक क्षति भएका किसानको भने खेतबारीमा थुप्रिएको गेगर नगरपालिकाको तर्फबाट जेसिबी लगाएर पन्छाइदिने निर्णय भएको थियो ।
भीषण बाढीले बगाएर ल्याएको गेगरले पुरिएका किसानको खेतबारीलाई पूर्ववत अवस्थामा फर्काएर खेती लगाउने वातावरण सिर्जना गर्नका लागि नगरपालिकाले जेसिबी प्रयोग गरेर बालुवा, गिटी र ढुङ्गा हटाइरहेको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । पूर्ण क्षति बेहोरेका र आंशिक क्षति बेहोरेका किसानको खेतबारीमा थुप्रिएको गेगर हटाउन नगरपालिकाले जेसिबी र आवश्यक डिजेल तथा अफ्रेटर उपलब्ध गराएको जनाइएको छ ।
असोजमा गएको भीषण बाढीले एउटै किसानको १५÷२० रोपनी खेतबारी पुरिएको पाइएको नगरपालिकाले जनाएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सुनकोशी आसपासका क्षेत्र खेतीयोग्य जमिनमा पर्दछ ।
गत असोज–१२ गते अस्वभाविकरुपमा आएको भीषण बाढीले सुनकोशी आसपासका किसानलाई उठीबास बनाएकाले उनीहरुलाई पुनः स्थापित गराउन खेतबारीमा थुप्रिएको गेगर हटाउन शुरु गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “असोज–१२ गते आएको भीषण बाढीले हाम्रो नगरपालिकामा ठूलो क्षति गरेको छ । सबैभन्दा बढी सुनकोशी आसपासका किसानकाको खेतबारीमा क्षति गरेको छ । उनीहरुमध्ये केहीलाई राहतसमेत उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बाढीले क्षतिग्रस्त बनेको अधिकांश ठाउँहरुमा बाँध हाल्नुपर्ने अवस्था देखिएको छ । त्यो काम नगरपालिकाबाट सम्भव छैन । त्यसका लागि माथिल्लो तहमा सिफारिस गरेका छौँ । तत्कालका लागि खेती गर्ने वातावरण मिलाउन नगरपालिकाको तर्फबाट गेगर हटाउने काम शुरु गरिएको छ ।”
पहिलो चरणमा भाँडबेँसीबाट शुरु गरिएको गेगर हटाउने काम क्रमशः रेग्मीटार हुँदै सबै ठाउँका किसानको खेतबारीमा गएर हटाइदिने नगरपालिकाले जनाएको छ । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा गत असोज–१२ गते आएको बाढी तथा पहिरोले दर्जनौँ घर तथा विद्यालयमा क्षति गरेको थियो ।
चाडपर्वको पूर्वसन्ध्यामा आएको भीषण बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री गुमाएर विस्थापित भएका उनीहरूमध्ये कतिपयले आफन्त, छिमेकी, विद्यालय तथा सार्वजनिक स्थलहरूमा बसेर दशैँ मनाएका थिए । बाढीपहिरो विस्थापितहरुलाई नगरपालिकाले राहतस्वरुप उपलब्ध गराएको सामान्य खानाका लागि दाल, चामल र नुनतेल तथा बस्नका लागि कम्बल र तन्ना बाहेक केही छैनन् ।


