खोटाङ, १२ माघ । प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित हुनुभएको छ । विराटनगरमा आज (शनिबार) बिहान सम्पन्न प्रेस सेन्टर नेपालको तेस्र्रो प्रदेश अधिवेशनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी नवराज कट्टेललाई पाँच मतले पराजित गर्दै समीप अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
समीपले ४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुँदा कट्टेलले ३६ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । अन्य सबै पदमा सहमति जुटेपनि अध्यक्षमा सहमति नभएपछि निर्वाचन गरिएको प्रेस सेन्टरले जनाएको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी स्थायी घर भइ भोजपुरमा बसेर पत्रकारिता गर्दै आउनुभएका समीप प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशनमा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । अध्यक्षका अर्का प्रत्यासी कट्टेल खुला उपाध्यक्ष हुनुहुन्थ्यो ।
तीन वर्षे कार्यकालका लागि चयन गरिएको प्रेस सेन्टरको प्रदेश समितिका खुला उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बू र समावेशी उपाध्यक्षमा सेसेहाङ लावती चयन हुनुभएको छ । महासचिव गोकुल पराजुली, खुला सचिवमा ईश्वर थापा, जनजाति सचिवमा डिकेश लामा, महिला सचिवमा बिनु तिम्सिना, मधेशी सचिवमा सत्यनारायण शर्मा र दलित सचिवमा राकेश नेपाली तथा कोषाध्यक्षमा झुलन रेग्मी चयन हुनुभएको छ ।
प्रेस सेन्टरको २३ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानियाँ, भीमकुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दीपक अधिकारी चयन हुनुभएको छ । विराटनगरस्थित विष्णुमायाँ सामुदायिक भवनमा आयोजित प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशनको उद्घाटन वरिष्ठ उपाध्यक्ष कमल गिरीले गर्नुभएको थियो ।
माघ–१०, ११, र १२ गते भएको प्रेस सेन्टरको अधिवेशनमा कोशी प्रदेश अन्तरगत पर्ने १४ जिल्लाका प्रतिनिधिहरु सहभागी भएका थिए । प्रदेश अधिवेशनमा जुटेको प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन भने, अहिलेसम्म टुङ्गो लागेको छैन ।


