आफ्नै सुविधायुक्त प्रशासनिक भवनबाट बराहपोखरी गाउँपालिकाको सेवा शुरु

Halesi Khabar

खोटाङ, ११ माघ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरुवात् गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधायुक्त चारतले प्रशासनिक भवन निर्माण गरेर सेवा प्रवाह शुरुवात् गरिएको हो ।

गाउँपालिका र सङ्घीय सरकारको संयुक्त रु छ करोड दश लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रा.लि. काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको जनाइएको छ । गाउँपालिकाको ५५ प्रतिशत र सङ्घीय सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो ।

सङ्घीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाइएको गाउँपालिका प्रमुख शालिकराज बञ्जराले जानकारी दिनुभयो । “सङ्घीय सरकारले भनेजति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माणको काममा केही समय ढिलाइ पनि भयो । निर्माण शुरु गरिएको भवन अलपत्र हुने अवस्था आएपछि गाउँपालिकाबाट १५ प्रतिशत थप गरेर सम्पन्न ग¥यौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन गुणस्तरीय र सुविधायुक्त छ । गाउँपालिकाको सबै विषयगत शाखाहरु छुट्टाछुट्टै राखेर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समेत सहज भएको छ ।”

प्रशासनिक भवनको भूइँतला र पहिलो तलामा छ÷छ कोठा, दोस्रो तलामा सात कोठा र तेस्रो तलामा सभाहलसहित तीन कोठा रहेको गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीले जानकारी दिनुभएको छ । नवनिर्मित प्रशासनिक भवनको सबै तलामा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सौचालय सञ्चालनमा ल्याइएको छ ।

प्रशासनिक भवनका लागि आर्थिक वर्ष २०७७÷०७८ मा टेण्डर (प्रस्तावनापत्र) आव्हान भएर वि.सं. २०७८ कातिक–७ गते गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो । ठेकेदार कम्पनीले मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ६९ लाख ७० हजार ३९२ लागतमा प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता गरेपनि निर्माण सम्पन्न गर्दा रु छ करोड दश लाख लागत पुगेको हो ।

देशमा सङ्घीयता कार्यान्वयन भएको तीन वर्षपछि बराहपोखरी गाउँपालिकाले रु ९८ लाख खर्च गरेर प्रि–फ्याव भवन निर्माण गरेको थियो । प्रि–फ्याव भवनमा कार्यालय सञ्चालन हुँदै आएको गाउँपालिकाले सोही भवनको पछाडिपट्टि खाली रहेको आफ्नै जग्गामा पक्की भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको औपचारिकरुपमा उद्घाटन आज (शुक्रबार) कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले गर्नुभएको छ । निक्कै तामझामका साथ प्रशासनिक भवनको औपचारिक उद्घाटन गरिएको कार्यक्रममा विभिन्न जातजातिको साँस्कृति झाँकीहरुसमेत प्रस्तुत गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहमा समेत प्रशासनिक भवन निर्माणको कममा धमाधम भइरहेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सम्पन्न भइसेको छ भने, रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन अवस्थामा छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपलिका र जन्तेढुङ्गा गाउँपालिकाले भने यसअघि नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाका अन्य स्थानीय तहमा सुविधायुक्त प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया