खोटाङ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिनुभएको हो ।
बुबा शहीद दिलकाजी कार्की र आमा शहीद इन्दिरा कार्कीको कोखबाट वि.सं. २०५५ कातिक–१ गते जन्मनुभएका महासचिव पदका उम्मेदवार प्रतिक अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय समिति सदस्य हुनुहुन्छ । नेश्नल ल कलेज काठमाडौँमा स्नातकोत्तर अध्ययनरत प्रतिकले अखिल क्रान्तिकारीको महासचिव पदमा दिनुभएको उम्मेदवारीलाई निक्कै महत्वका साथ हेरिएको छ ।
नेपाल ल क्याम्पस काठमाडौँमा वि.सं. २०७२ सालमा बि.ए. एल. एल. बि. अध्ययनका लागि भर्ना भएलगत्तै अखिल क्रान्तिकारीमा आवद्ध हुनुभएका प्रतिक सो क्याम्पसमा गठित अखिल क्रान्तिकारीको क्याम्पस इकाइ समितिको सहसचिव र वि.सं. २०७४ सालमा अध्यक्ष हुनुभएको थियो । महासचिव पदका उम्मेदवार प्रतिक चार वर्षको हुँदा बुबाआमा दुवैलाई तत्कालीन शाही नेपाली सेनाले वि.सं. २०५९ असार–३१ गते खोटाङको सिम्पानीबाट गिरफ्तार गरेर गोही हानी हत्या गरेको हो ।
जनयुद्धमा शहादत प्राप्त गर्नुभएका प्रतिकका बुबा शहीद दिलकाजी कार्की र आमा शहीद इन्दिरा कार्कीलाई खोटाङको जनयुद्धको अभिभावक मान्ने गरिएको छ । जनयुद्ध शुरु भएको सात वर्ष नबित्दै शहादत प्राप्त गर्नुभएका शहीद दिलकाजी कार्की र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङको दिक्तेल बजारमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’समेत गठन गरिएको छ ।
बुबाआमाले लड्नु भएको जनयुद्धलाई सम्मान् गर्दै उहाँहरुको बलिदानीबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न तथा विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन आफूले आसन्न अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेदवारी दिएको प्रतिकले बताउनुभएको छ । “मेरा स्वर्गीय बुबाआमाले मेरो व्यक्तिगत जीवनका लागि नभइ समग्र देशवासीका लागि जनयुद्ध शुरु गर्नुभएको थियो । उहाँहरुले शुरु गर्नुभएको जनयुद्धलाई म सम्मान् गर्छु”, उहाँले भन्नुभयो, “जनयुद्धबाट प्राप्त उपलब्धिहरु अहिले खतरामा पर्दै गएको छ । राजनीतिक दलहरु अलमलमा छन् । उनीहरुलाई खबरदारी गर्ने भनेकै विद्यार्थीहरुले हो । किन कि, विद्यार्थी भनेको समाजको सचेत पुस्ता हुन् । शैक्षिक क्षेत्रमा भइरहेको बिकृति तथा बिसङ्गतिको अन्त्यका लागि पनि मैले अखिल क्रान्तिकारीमा महासचिव पदको उम्मेदवारी दिएको हो ।”
विद्यार्थीले चाहेको शिक्षा लिन पाउने नैसर्गिक अधिकार संविधानमै उल्लेख भएपनि त्यस्तो शिक्षा दिलाउन राज्य तत्पर नभएकाले खबरदारी गर्नका लागि आफूले महासचिव पदमा उम्मेदवारी दिएको प्रतिकले बताउनुभएको छ । “हरेक वर्ग, क्षेत्र, लिङ्ग र जातजातिका विद्यार्थीको समानुपातिक सहभागिताका लागि लड्ने मेरो प्रमुख एजेण्डा हुन् । ‘जहाँ विद्यार्थी, त्यहाँ अखिल क्रान्तिकारी’ भन्ने नारा नै लिएर अगाडि बढ्छु”, उहाँले भन्नुभयो, “शिक्षाका नाममा व्यापार भइरहेका छन् । सरकारीभन्दा निजी शैक्षिक संस्थामा विद्यार्थीहरु बढी देखिएका छन् । विद्यार्थीलाई आफूले चाहेको शिक्षा लिन पाउने नैसर्गिक अधिकार छ । यसप्रति सरकारको ध्यानाकार्षण गराउन मेरो उम्मेदवारी हो ।”
वर्तमान अवस्थामा विद्यार्थी आफ्नो दायित्वबाट पछि हट्दै गएकाले अखिल क्रान्तिकारीको सङ्गठन सुदृढिकीरण गर्नुपर्ने अवस्था आएको प्रतिकको भनाइ छ । दश स्थानीय तह रहेको खोटाङबाट महासचिवका उम्मेदवार प्रतिकसँगै उपमहासचिवमा रविन खम्बू र केन्द्रीय सदस्यमा लालबहादुर मगर ‘एलबी’को उम्मेदवारी परेको छ ।


