लघु उद्यम गर्न चाहने नागकिकका लागि हलेसी तुवाचुङमा बिना ब्याजको ऋण

Halesi Khabar

खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीय नागरिकले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिना ब्याजका ऋण दिने व्यवस्था मिलाएको हो ।

नगरपालिकाका स्थानीय उद्यमीलाई बिना ब्याजका ऋण उपलब्ध गराउन नगरपालिकाले आज (बुधबार) प्रभु बैङ्क शलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैङ्कले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिना ब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ ।

नगरपालिकाभित्र खोलिएका लघु उद्योगहरुको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टे लगायतका व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइ दिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताउनुभयो । “उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैङ्कसँग सम्झौतासमेत गरिसकिएको छ” उहाँले भन्नुभयो, “उद्यमीले बैङ्कबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।”

उद्यम गर्न चाहने स्थानीय नागरिकले बिना ब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ । वडा–वडामा सङ्कलन भएको निवेदनहरुलाई समेटेर नगरपालिकाले बैङ्कलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिना ब्याजको ऋण पाउने भएपछि उत्साहित भएका छन् । नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितोअनुसार मूल्याङ्कन गरेर बैङ्कले ऋण प्रदान गर्ने प्रभु बैङ्क हलेसी शाखाका प्रमुख तीर्थराज बिष्टले बताउनुभएको छ ।

ऋण लगेका व्यक्तिहरुले लघु उद्यममा लगानी गरेको छ या छैन् भनेर हरेक तीन महिनामा बैङ्क र नगरपालिकाको संयुक्त टोलीले अनुगमन गर्ने कार्यविधि बनाइएको छ । यदि, स्थानीय नागरिकले बैङ्कबाट ऋण लगेर कुनै पनि उद्यममा लगानी नगरेको खण्डमा नगरपालिकाले प्रदान गरेको ब्याज अनुदान कार्यक्रम कटौती गरिने प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले जनमुखी कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ । त्रिधार्मिकस्थल हलेसीसमेत रहेको उक्त नगरपालिकाले नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार रैथानेबाली प्रवद्र्धन कार्यक्रम यही आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याएको हो ।

एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण शुरु गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियान अन्तरगत पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई उनीहरुको गाउँमै लगेर रकम वितरण शुरु गरेको हो ।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा बदाम लैजाने गरेका छन् । नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्नका लागि हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्रसमेत सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया