अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूको उम्मेदवारी दर्ता

Halesi Khabar

खोटाङ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूले उम्मेदवारी दर्ता गर्नुभएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यसमितिको निवर्तमान सचिवसमेत रहनुभएका खम्बूले यही माघ–१२ गते हुने राष्ट्रिय निर्वाचनका लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

देशमा भइरहेको शैक्षिक बिकृति, बिसङ्गति तथा शैक्षिक दलालहरुको अन्त्य गर्दै शिक्षा क्षेत्रमा आमूल रुपान्तरण गर्नका लागि आफूले केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको खम्बूले बताउनुभएको छ । “समग्र विद्यार्थी आन्दोलनलाई नयाँ रूपमा विकास गर्दै आजको समयमा थप विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नुछ । दश वर्षे महान जनयुद्धको जगमा भएको २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु खतरामा पर्दै गएको छ”, उपमहासचिव पदमा उम्मेदवारी दर्तापछि खम्बूले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “प्राप्त उपलब्धिहरुको रक्षा गर्दै शिक्षा र स्वास्थ्य जस्तो जनताको आधारभूत, संवेदनशील विषयलाई पूर्णरूपमा निःशुल्क गराउन तथा विद्यार्थी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाएर नेकपा (माओवादी केन्द्र)लाई २०६४ सालको शक्तिमा फर्काउन पनि मैले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको हुँ ।”

प्रदेश नं. १ बाट केन्द्रीय उपमहासचिव पदका उम्मेदवार खम्बूले यही माघ–१२ गते हुने २३ औँ राष्ट्रिय सम्मेलनमा निर्धक्क भएर मतदान गर्न देशभरका प्रतिनिधिहरु समक्ष आग्रहसमेत गर्नुभएको छ । केन्द्रीय उपमहासचिवमा खम्बूको उम्मेदवारी दर्ता भएसँगै प्रचारप्रसारलाई तीव्र गतिमा अगाडि बढाइएको जिल्ला अध्यक्ष डार्विन चाम्लिङले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा निवासी खम्बू दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । पहिचानको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका खम्बू वि.सं. २०७९ कातिक–१७ गते नेकपा अखिल क्रान्तिकारीमा समाहित हुनुभएको हो ।

तत्कालीन जनता समाजवादी पार्टी नेपालको प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्यको भूमिकासमेत निर्वाह गरिसक्नुभएका खम्बूले उपमहासचिव उम्मेदवारीलाई निक्कै सशक्त मानिएएको छ । प्रत्येक प्रदेशबाट एक÷एक जना उपमहासचिव चयन गर्ने अखिल क्रान्तिकारीको विधानअनुसार आफूले १ नं. प्रदेशबाट उम्मेदवारी दर्ता गरेको खम्बूले बताउनुभएको छ ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा खम्बूसँगै खोटाङबाट लालबहादुर मगर ‘एलबी’ले समेत केन्द्रीय सदस्यमा आफ्नो उम्मेदारी दर्ता गराउनुभएको छ । पहिचानको आन्दोलनमा खम्बूसँगै होमिनुभएका मगर नेपाली काँग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरसमिति सदस्य परित्याग गरेर नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको हो ।

हरेक जिल्लाबाट एक÷एकजना केन्द्रीय सदस्य छनोट गर्ने अखिल क्रान्तिकारीको विधानअनुसार खोटाङबाट मगर एकजनाको मात्र उम्मेदवारी दर्ता गराइएको जिल्ला अध्यक्ष चाम्लिङले जानकारी दिनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत मगरलाई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनाउने पूर्वसहमतिअनुसार सर्वसम्मत् उहाँको मात्र एकल उम्मेदवारी दर्ता गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया